Sajhamanch Archive

‘अहिले देशलाई युवाको बढी खाँचो छ’

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by .

काठमाडौं  । सरकारले अहिले देशमा युवाको नेतृत्व र सकारात्मक भूमिकाको खाँचो रहेको बताएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले कोरोना महामारीको सङ्कट गहिरिँदै गएको बेला यसको व्यवस्थापनको लागि युवाको भूमिकाको खाँचो अरु बेलाको भन्दा बढी रहेको बताए ।

उनले सबै युवाहरु अहिले आफू सुरक्षित हुँदै समुदायका जोखिम वर्गका मानिसलाई सहयोग गर्न आग्रह गरे । मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा डा. गौतमले बुधबार अन्तर्राष्ट्रिय युवा दिवससमेत रहेको प्रसङ्गमा यस वर्षको नारा विश्वव्यापी कार्यक्रमका लागि युवाहरुको सहभागिता रहेको र यस वर्ष विश्वमै कोरोना महामारी रहेकोले यसको व्यवस्थापनमा युवाको सहभागिता खोजिएको बताए ।

प्रवक्ता गौतमले आफू सुरक्षित रहन र रोकथामका काममा मेहनतका साथ लाग्न आग्रह गरे । कोरोना महामारी युवाहरुको लागि प्राणघातक नरहने तर जोखिम वर्गसम्म भाइरस पुर्‍याउन युवाहरुको भूमिका हुन सक्ने भएकोले उनीहरु बढी सचेत हुनुपर्ने बताए ।

उनले युवाहरुलाई बारम्बार साबुन पानीले हात धुन, भिडभाडमा नजान, अरुसँग हात नमिलाउन, आफ्नो परिवार वा समुदायमा सचेतना फैलाउन, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीका आफन्तलाई सहयोग गर्न, मिथ्या खबरहरु पहिचान गरी त्यस्ता खबर फैलनबाट रोक्न र स्वास्थ्य मापदण्ड पालनाका लागि समुदायलाई आह्वान गर्न आग्रह गरे ।

महामारी रोकथामका लागि आफूले सक्ने सहयोग गर्न र आफूले गरेको काम सामाजिक सञ्जाल तथा सञ्चार माध्यमबाट बाँडेर अरुलाई प्रेरित गर्न पनि प्रवक्ता गौतमले जोड दिए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *