Sajhamanch Archive

चिया श्रमिकद्वारा आन्दोलन गर्ने चेतावनी

Published: in राष्ट्रिय समाचार, समाज by .

इलाम । उद्योगीले माग पूरा नगरे चिया श्रमिकले आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

दुई-दुई वर्षमा चिया श्रमिकको ज्याला वृद्धि हुनुपर्ने प्रावधान रहेको छ । उद्योगीले साविककै ज्याला दिएको र परिश्रमिकबाट तिर्ने सामाजिक सुरक्षा करको सामाजिक भत्ता श्रमिकलाई नै दिनुपर्नेलगायतका माग श्रमिकले राखेका छन् । उनीहरूले कोरोनाको महामारीका समय पनि काममा खटिदा पनि उद्योगीले सुरक्षाका सामग्रीसमेत नदिने गरेको गुनासो गरेका छन् ।

कोरोनाका कारण विश्वभरि नै महामारी फैलिए पनि चिया क्षेत्रका लागि भने ‘स्वर्णिम’ समय भएको श्रमिकले बताएका छन् । पछिल्लो समय हरियोपत्तीको मूल्य आकाशिएकाले उद्योगले चियाबाट उल्लेखिय फाइदा लिँदै रहेको श्रमिकले बताएका छन् ।

श्रम ऐन २०७४ को दफा १०६ मा प्रत्येक दुई वर्षमा न्यूनतम पारिश्रमिक पुनरावलोकन गर्ने व्यवस्था छ तर २०७७ साउन १ देखि लागू हुने गरी चिया श्रमिकको पारिश्रमिक वृद्धि गर्नुपर्ने तथा पत्ती डबली समय अनुकूल वृद्धि गरिनुपर्ने व्यवस्था भए पनि अहिलेसम्म नियम कार्यान्वयनमा आएको छैन ।

यसपटक नेपाल कृषि तथा बगान क्षेत्र श्रमिक सङ्घ, नेपाल चिया बगान श्रमिक सङ्घ र अखिल नेपाल चिया मजदूर सङ्घको केन्द्रीय समितिले आन्दोलनमा जाने जनाएका हुन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *