कचनकवलको बजेट विनियोजनमा विभेद गरेको भन्दै परिषद सदस्यले नै बुझाए ज्ञापन पत्र
Published:
by .भद्रपुर । कचनकवल नेतृत्वले वडागत वजेट विनियोजन गर्दा विभेद गर्दै न्यून रकम छुट्याएको भन्दै ४ कार्यपालिका सदस्य सहित १४ परिषद सदस्यले निर्णय सच्याउन ५ दिने अल्टिमेटम दिँदै ज्ञापनपत्र बुझाएका छन् ।
गाउँपालिका अध्यक्षले कार्यपालिकाको बैठक नै नराखी आफूखुसी ६० लाखको वजेट सिलिङ १० लाखमा झारेको बिरोध गर्दै ४ वडाध्यक्ष तथा १० वडा सदस्यहरूले निर्णय सच्याउन माग राखी ५ दिने अल्टिमेटम दिँदै ज्ञापनपत्र बुझाएका हुन् । वडाध्यक्ष मेखबहादुर भट्टराइको नेतृत्वमा गाउापालिकाकी उपाध्यक्ष निमसरी राजवंशीमार्फत अध्यक्ष अञ्जरा आलमलाई ज्ञापनपत्र बुझाइएको हो ।
वडाध्यक्षहरूमा वाडा नम्बर २ का अध्यक्ष मेखबहादुर भट्टराई, ४ का परमानन्दसिंह राजवंशी, ६ का अध्यक्ष कुलबहादुर कार्की र वडानम्वर ७ का अध्यक्ष भरत राजवंशी रहेका छन् । त्यस्तै वडा नम्वर १, २, ४, ६ र ७ का गरी १० जना परिषद सदस्य गरी १४ जनाले विगत आर्थिक वर्षकै हाराहारीमा वजेट विनियोजन हुनु पर्ने माग राखेका छन् ।
२०७७ जेठ १८ गते गाउँपालिकाले ६० लाखका दरले वजेट पठाउने भन्दै हरेक वडा कार्यालयलाई सोही अनुसार टोल विकास मार्फत योजना छनौट गर्न पत्राचार गरेको भन्दै वडाबाट ६० लाखका योजना गाउँपालिकामा प्रस्तुत गरिसकेपछि एकाएक १० लाख मात्र दिने परिसषद बैठकमा पारित गरेको प्रति नेपाली काँग्रेस र नेकपाबाट विजयी जन प्रतिनिधिहरूले आपत्ति उठाएका हुन् । विगत वर्षभन्दा करको दर समेत बढाएको गाउपालिका नेतृत्वले वडाको वजेट समेत रोकेर आफू हावी हुन खोजेको आरोप लगाउँदै वडाध्यक्ष सहितका परिषद सदस्य आनदोलित भएका हुन् ।
ज्ञापन पत्रमा ५ दिने अल्टिमेटम दिँदै वजेट सिलिङ यथावत हुनु पर्ने, जनताले तिर्नु पर्ने राजश्व साविक अनुसार नै हुनु पर्ने, गाउँपालिका भित्रका सडक मर्मत लगायत विकास निर्माणका काम वडामार्फत हुनु पर्ने, योजना तथा अनुदान वडा कार्यालयको सिफारिसमा हुनु पर्ने र विकास निर्माणको चरम लापरवाही र सामग्री वितरण प्रणाली पारदर्शी नभएकोले छानविन गरिनु पर्ने माग राखिएको छ ।
गाउँपालिकाले चालु आर्थिक वर्ष ०७७÷७८ का लागि असार ३१ गते ५३ करोड ८९ लाख ६० हजार एक सय रूपैयाको बजेट बहुमतले पारित गरेको छ ।
गाउँपालिकाको असार १० गतेबाट सुरू भएको गाउँ सभा अन्त्य गर्दै परिषद सदस्यहरूको बहुमतले बजेट पारित गरेको थियो ।
गाउँपालिका अध्यक्ष अञ्जार आलमको अध्यक्षतामा सम्पन्न भएको सभा सुरू हुने वित्तिकै ४ जना वडाध्यक्ष तथा १० जना परिषद सदस्यहरूले कार्यपालिका सदस्यहरूले आफ्ना वडामा आउने ६० लाख बजेटबाट १० लाखमा झारिएको भन्दै सभा बहिस्कार गरेका थिए ।
७ वडा वडा रहेको कचनकवलमा ४ र ७ नम्वर वडाध्यक्ष सहित ८ जना नेपाली काँग्रेसबाट निर्वाचित जनप्रतिनिधि छन् भने तत्कालीन एमालेबाट २ र ६ नम्वर वडाध्यक्ष सहित ६ जना जनप्रतिनिधि निर्वाचित छन् । काँग्रेस र नेकपा सम्बद्ध जनप्रतिनिधिले बहिस्कार गरे पनि राप्रपाको बहुमत भएका कारण गाउँ सभाले वजेट पारित गर्न सफल गरेको थियो ।
Comments