Sajhamanch Archive

बायर्नसँग बार्सिलोनाको लज्जास्पद हार

Published: (Updated: ) in खेलकुद by .

एजेन्सी । जर्मन च्याम्पियन बायर्न म्युनिखसँग लज्जास्पद हार बेहोर्दै बार्सिलोना यूईएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलबाट बाहिरिएको छ ।

शुक्रबार लिस्बनमा बायर्नले उत्कृष्ट प्रदर्शनका साथ ८-२ को जित दर्ता गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो । पहिलो हाफमै ४ गोल गरेको बायर्नका लागि थोमस मुलर र फिलिपे कोउटिन्होले २ गोल गरे । जोशुआ किम्मिच, सर्ज जिनाब्री, रोबर्ट लेवान्डोस्की, र इभान पेरिसिचले १-१ गोल थपे । बार्सिलोनाका लागि लुइस सुआरेजले एक गोल गर्दा अर्को गोल डेविड अलाबाको आत्मघाती गोल थियो ।

खेलको तेस्रो मिनेटमा नै बायर्नले अग्रता लियो । रोबर्ट लेवान्डोस्की र थोमस मुलरले पेनाल्टी क्षेत्रभित्र एक अर्कासँग पास खेल्दै बनाएको मुभमा मुलरले गोल गरेका थिए । उनले लेवान्डोस्कीले मिलाएको बललाई पहिलो टचमा नै गोल गर्न सफल भए ।

तर बायर्नको उक्त अग्रता ३ मिनेट पानी टिक्न सकेन । छैटौं मिनेटमा जोर्डी अल्बाले गरेको क्रसलाई क्लियर गर्ने क्रममा डेविड अलाबाको क्लियरेन्स आफ्नै पोस्टमा छिर्न पुग्यो ।

खेलको २० औं मिनेटमा लिओनेल मेस्सीले दुई डिफेन्डरलाई छलाउँदै पेनाल्टी क्षेत्रभित्रबाट गरेको प्रहार गोलरक्षक नोएरले सहजै बचाए । त्यसको एक मिनेट नबित्दै अर्कोतर्फ आक्रमण बुनेको बायर्नले पुन: अग्रता बनायो । इभान पेरिसिचले सर्ज जिनाब्रीको पासलाई पेनाल्टी क्षेत्रभित्र नियन्त्रणमा लिँदै गरेको प्रहार गोलमा परिणत भयो ।

२७ औं मिनेटमा बायर्नले अग्रता दोब्बर पार्यो । सर्ज जिनाब्रीले गोरेट्जकाको पासलाई सदुपयोग गर्दै पेनाल्टी क्षेत्र भित्रबाट उत्कृष्ट फिनिस गरेपछि बायर्नले ३-१ को अग्रता लियो । ३१ औं मिनेटमा बायर्नले अर्को गोल थप्दै ४-१ को अग्रता बनायो । जोशुआ किम्मिचले दायाँ विंगबाट गरेको क्रसलाई मुलरले ६ यार्ड बक्सभित्रबाट पहिलो टचमा नै गोलरक्षक टेर स्टेगनलाई बिट गर्न सफल भए ।

५७ औं मिनेटमा लुइस सुआरेजले गोल गर्दै बार्सिलोना खेलमा फर्कने संकेत गरे । जोर्डी अल्बाको पासलाई पेनाल्टी क्षेत्रबाहिर नियन्त्रणमा लिएका सुआरेजले पेनाल्टी क्षेत्रभित्र बोटेङलाई बिट गर्दै गरेको प्रहार नोएरले बचाउन सकेनन् ।

खेलको ६३ औं मिनेटमा बायर्नले गोल गर्दै पुन: ३ गोलको अग्रता कायम गर्यो । अल्फोन्सो डेभिसले बायाँ विङ्गमा बल नियन्त्रणमा लिँदै पेनाल्टी क्षेत्रभित्र अगाडि बढेर ६ यार्ड बक्सबाट दिएको कटब्याकमा किम्मिचले पहिलो टचमा गोल गर्दै ५-२ ले अगाडी बढाए । डेभिसले बायाँ विङ्गमा सेमेडोलाई छक्याएर बल अगाडी बढाउने क्रममा बार्सिलोनाको डिफेन्सले उनलाई रोक्न नसक्दा गोल सम्भव भएको थियो ।

८२ औं मिनेटमा फिलिपे कोउटिन्होको क्रसमा लेवान्डोस्कीले हेडरमार्फत गोल गर्दै बायर्नलाई ६-२ ले अगाडी बढाए । कोउटिन्होले पेनाल्टी क्षेत्रको बायाँबाट दिएको क्रसलाई अनमार्क रहेका लेवान्डोस्कीले जारि सिजन च्याम्पियन्स लिगको व्यक्तिगत १४ औं गोलमा परिणत गरेका थिए ।

८५ औं मिनेटमा फिलिपे कोउटिन्होले गोल गर्दै स्कोर ७-२ बनाए । मुलरले दिएको थ्रु पासलाई नियन्त्रणमा लिँदै कोउटिन्होले डिफेन्डरहरुको बीचबाट गरेको प्रहार टेर स्टेगनले बचाउन सकेनन् । ८९ औं मिनेटमा कोउटिन्होले व्यक्तिगत दोस्रो गोल गर्दै बायर्नको अग्रता थप फराकिलो पारे । पेनाल्टी क्षेत्रभित्रै लुकास हर्नान्डेजको हेडर पासलाई कोउटिन्होले सहजै नियन्त्रणमा लिँदै गोलमा परिणत गरेका थिए ।

बायर्नले अब सेमिफाइनलमा म्यानचेस्टर सिटी र लियोनबीच खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *