Sajhamanch Archive

मास्क नलगाउने चार लाख कारबाहीमा, २५ लाख रुपियाँ जरिवाना असुल

Published: in राष्ट्रिय समाचार, समाज by .

काठमाडौँ । नेपालभरमा हालसम्म चार लाख १९ हजार ५३८ जना मास्क नलगाई बाहिर निस्कनेलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरूलाई केही बेर सडकमा उभ्याउने र मास्कको महत्त्वको बारेमा बुझाउने र अनिवार्य रुपमा मास्क लगाएर मात्रै घरबाहिर निस्कनको लागि सम्झाउने काम भएको छ । त्यति हुँदा पनि अटेर गरेमा सङ्क्रामक रोग निवारण ऐनअन्तर्गत कारबाही गरेको छ ।

नेपालका ७७ जिल्लामा जिल्ला प्रशासन कार्यालयमार्फत मास्क प्रयोग नगरी हिँड्नेलाई कारबाही गरिने प्रकृयाअघि बढाएको गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले जानकारी दिए । साउन ३० गतेसम्ममा नेपालका ७७ जिल्लामा चार लाख १९ हजार ५३८ जना मास्क नलगाई बाहिर आएकामध्ये तीन लाख ५४ हजार ८२४ जनालाई मास्क लगाएर हिँड्न सम्झाएर पठाएको र उनीहरूलाई ३९ हजार ५०७ थान मास्कसमेत वितरण गरेको प्रवक्ता बुढाले भने।

त्यस्तै २५ हजार २०७ जना व्यक्तिहरू मास्क नलगाई हिँडेकोमा प्रतिव्यक्ति एक सय रुपियाँको दरले २५ लाख २० हजार सात सय रुपियाँ राजस्व सङ्कलन भएको प्रवक्ता बुढाले भन्े। अत्यावश्यक कामबाहेक काठमाडौँ उपत्यका भित्रने खोज्ने २७ हजार ११८ वटा सवारी साधनलाई काठमाडौँ भित्रने खोज्ने नाकाबाटै फर्काइएको उनले स्पष्ट पारे ।

काठमाडौँ उपत्यकामा कोरोनाको जोखिम बढेसँगै र सक्रिय सङ्क्रमित दैनिक सयौँको सङ्ख्यामा देखिन थालेपछि काठमाडौँ जिल्लामा पाँच र ललितपुर र भक्तपुर जिल्लामा चाररचार वटा अनुगमन समितिले राजधानीका मल, भिडभाड हुने क्षेत्रमा अनुगमन गरिरहेको एक सातामा गृहमन्त्रालयमा प्रतिवेदन बुझाउने प्रवक्ता बुढाले बताए । प्रतिवेदन बुझाएपछि थप जानकारी नियमित रुपमा सार्वजनिक हुने बुढाले जानकारी दिएका छन् । गोरखापत्र बाट

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *