नेपालमा पर्वतारोहण विषयको औपचारिक पढाइ सुरु
Published:
by .काठमाडौं । विश्वमै पर्वतारोहण विषय अध्यापन गर्ने नेपाल पहिलो मुलुक भएको छ ।
पर्यटन विश्वविद्यालयको अवधारणा लिएर यसै वर्षदेखि नेपालमा पर्वतारोहण विषय पढाउन थालिएको हो ।
पर्यटन र पर्वतारोहण विषय अध्ययन गर्न चाहने विश्वका पर्यटन विद्यार्थीहरुको अध्ययन केन्द्र बनाउने उद्देश्यले नेपालमा क्याम्पस तहमा पर्वतारोहण विषयको अध्यापन सुरु गरिएको हो ।
नेपाल विश्वमा पर्यटन ‘हब’कारुपमा परिचित भएपनि यस क्षेत्रले खासै गति लिन नसकेको अवस्थामा पर्वतारोहणको विषय अध्यापन हुनुलाई सकरात्मक मानिएको छ ।
नेपाल माउन्टेन एकेडेमीकी संस्थापक कार्यकारी निर्देशक लाक्पाफूटी शेर्पाले पर्वतीय पर्यटन र हिमाल आरोहणको प्रमुख केन्द्रकारुपमा रहेको नेपालमा पर्यटन विषय अध्ययन हुनु गौरव भएको बताइन् ।
हिमालै–हिमालको देश हुनुको नाताले विश्वका पर्यटक हिमाल आरोहणका लागिमात्र नभइ प्राकृतिक सुन्दरताको अध्ययन गर्न पनि नेपाल आउने गरेका छन् ।
पर्यटन विश्वविद्यालयका अभियन्ता हिमाल आरोही टासीलाक्पा शेर्पा नेपाललाई पर्यटन अध्ययन गन्तव्यकारुपमामात्र नभइ पर्यटकहरुले पर्यटन प्रमाणपत्र लिने केन्द्रकारुपमा विकास गर्नुपर्ने बताउँछन् ।
हिमाल आरोहणमा सैद्धान्तिक, रचनात्मक ज्ञान र सीपको आवश्यकता रहेको भन्दै उनले सरकारसँग पर्यटन विश्वविद्यालयको मागसमेत गरे ।
माउन्टेन एकेडेमीकी संस्थापक कार्यकारी निर्देशक लाक्पाफूटी शेर्पाले आफ्नो लामो अभियानले सार्थकता पाएको भन्दै नेपालको हिमाल र यहाँको पर्यटनको विश्वबजारमा ज्ञान अभिवृद्धि गर्न मद्दत मिल्ने बताउँछिन् ।
विश्वमै तालिमको भरमा चल्दै आएको हिमाल आरोहणसम्बन्धी पढाइ नेपालमा शैक्षिकरुपमा अगाडि बढ्नु सकरात्मक रहेको छ । अहिले पर्यटनबारे अध्ययन गर्न विभिन्न मुलुकका पर्यटक नेपाल आउने गरेका छन् ।
तर, नेपालबाट पर्यटन र पर्वतारोहणको प्रमाणपत्र लिन अन्य मुलुकमा जानुपर्ने बाध्यता छ ।
Comments