Sajhamanch Archive

बाढी पहिरो अपडेटः पछिल्लो २४ घण्टामा देशभर १३ जनाको मृत्यु, १८ जना घाइते

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by .

काठमाडौं । पछिल्लो २४ घण्टामा बाढी पहिरोका कारण देशका विभिन्न ठाउँमा ज्यान गुमाउनेको सङ्ख्या १३ जना पुगेको छ ।

बाढी पहिरोमा परेर १७ जना हराइरहेका छन् भने १८ जना घाइते भएका छन् । ३० वटा घर पूर्णरुपमा भत्किएका छन् । बाढी र पहिरोका कारण अछाममा ६, बझाङमा दुई, दैलेखमा दुई, बाजुरा दुई र सुर्खेतमा एक जनाको ज्यान गएको गृह मन्त्रालयले जनाएको छ ।

अछामको रामारोशन गाउँपालिका वडा नं.५ मा बाढी पहिरोमा परेकामध्ये अहिलेसम्म ६ जनाको शव भेटिएको छ । हराइरहेका ११ जनाको खोजी बिहीबार बिहानदेखि फेरि सुरु गरिने गाउँपालिकाका अध्यक्ष झंकरबहादुर साउँदले जानकारी दिए ।

यस्तै, दैलेखका विभिन्न ठाउँमा बाढी र पहिरोका कारण दुई जनाको ज्यान गएको छ । कालीकोटको नरहरिनाथ गाउँपालिका वडा नं.५ रुप्साको जात्तडामा पहिरोले दुई घर बगाउँदा हराएका चारै जनाको परिचय खुलेको छ । नरहरिनाथ -५ का ५५ वर्षीय चन्द्र सहकारी, २७ वर्षीया चम्फा सहकारी, ३० वर्षीया झिमा सहकारी र १२ वर्षीय रमित सहकारी पहिरोमा परेर हराएका जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ ।

बझाङको बुङ्गल नगरपालिका वडा नं. ५ मा पहिरोले घर बगाउँदा हराएका दुई जना बालकको शव भेटिएको छ । यस्तै बाजुराको बुढीनन्दा नगरपालिका वडा नं.६ मा पहिरोले घर भत्काउँदा ५५ वर्षीया भिनु ल्वार र खप्तड छेडेदह गाउँपालिका वडा नं.५ की तीन वर्षीया सनीका बुढाको ज्यान गएको छ ।

बाढी पहिरोका कारण सुर्खेतमा पनि एक जनाको ज्यान गएको छ । वर्षासँगैको बाढी र पहिरोका कारण देशका विभिन्न राजमार्ग पनि बन्द भएका छन् ।

स्रोत : उज्यालो

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *