Sajhamanch Archive

भद्रपुर नाकाबाट दिउँसै गाई गोरू तस्करी प्रशासन बेखवर

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, विविधा by .

भद्रपुर । नेपाल भारत सीमा बन्द छ भनिए पनि शसस्त्र प्रहरी बलको कार्याल दक्षिण दुई सय मिटर क्षेत्रबाटै तस्कर समूहले दिउँसै गाई गोरू भारततिर लैजाने गरेको पाइएको छ ।

१५ दिन यता भद्रपुर ५ स्थित गणेश मन्दिर पश्चिम भित्री सडकमा गाडीमा ल्याएर जम्मा गरेका गाई गोरू विहान, दिउँसो र बेलुका गरी तस्कर समूहले शसस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालयको दक्षिणपट्टिबाट पूर्व पस्ने भित्री सडकबाट मेची खोला हुँदै भारततिर दिउँसै लाने गरेका छन् । बलको कार्यालयबाट दुई सय मिटर दुरीबाटै गाई गोरू जाने गरेको भए पनि रोकछेक नगरिएको स्थानीयले बताउने गरेका छन् ।

एक पटकमा एउटा व्यक्तिले एउटा गाई वा गोरू डोहोर्याएर लैजाने गरेको पाइएको छ । एक दिनमा ५ पटकसम्म वारपार गर्ने गरेको व्यापारमा संलग्न व्यक्तिहरू बताउँछन् । उनीहरूका अनुसार गणेश मनिदरदेखि एउटा गाई वा गोरू मेची किनारसम्म लगिदिए वापत चार सय रूपैया पाउने गरेका छन् । गाई गोरू डोहोर्याउने आफैं व्यपारी नभएर अर्कैको भरिया रहेका छन् । व्यापारीले प्रहरी प्रसाशनसित साँठगाठ मिलाइदिएर गाई गोरू भारततिर जाने वातावरण निर्माण गरेकाले रोजगारीका लागि गाई गोरू लैजाने गरेको संलग्न व्यक्तिको भनाइ छ ।

मुल व्यपारीको नाम थाहा नभएको बताउने ती व्यक्तिहरू भद्रपुर नगर क्षेत्रका दश स्थानबाट दिउँसै गाई गोरू भारत जाने गरेको बताउँछन् । मेची खोलासम्म पुर्याउँदा नेपाल प्रहरी र सशस्त्र प्रहरीले अवरोध नगरेको समेत उनीहरूको भनाइ छ ।

पछिल्लो समय बन्दाबन्दी खुलेसँगै सिमावर्ती क्षेत्रमा अवैध कारोवार मौलाएको छ । नेपाल तथा भारतका सुरक्षा जिम्मेवारी लिएका प्रहरीले नियन्त्रण प्रयास गरेको दाबी गरे पनि रातारात प्रहरीकै मिलिभगतमा भारतबाट नेपाल तर्फ सुर्तीजन्य पदार्थ, युरिया मल, कपडा, मेसिनरी पार्टपूर्जा, विभिन्न किटनासक रसायन, चप्पल जुत्ता भित्रिरहेको अवस्था छ भने सुपारी, चुरोट, ओखर, विभिन्न कस्मेटिक आइटम, बहुराष्ट्रिय कम्पनीका विभिन्न उत्पादन, काठ, गाई गोरू लगायत सामग्री भारत तर्फ गइरहेको सिमावर्ती क्षेत्रका स्थानीयले बताउने गरेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *