Sajhamanch Archive

निको भएर घर फर्किंदै थिइन्, एम्बुलेन्सबाट खसेर ज्यान गुमाइन्

Published: in मिडियाबाट साभार, समाज by .

दाङ । एम्बुलेन्सबाट खसेर घाइते महिलाको उपचारका क्रममा मृत्यु भएको छ।

एम्बुलेन्सबाट खसेर घाइते भएकी दाङ राजपुर गाउँपालिका वडा नं. ७ भैंसाही निवासी ३५ वर्षीया कमला विकको उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको छ।

वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रहरी निरीक्षक प्रज्वल थपलियाका अनुसार उनको बुधबार बेलुका सवा ९ बजेतिर मृत्यु भएको हो। बाँकेबाट उपचारपछि घर फर्किंदै गरेकी विक लमही नगरपालिका वडा नं. ७ बनघुस्रीमा गुडिरहेको भे १ च १६४५ नम्बरको एम्बुलेन्सबाट खसेर घाइते भएकी थिइन्।

प्रहरी निरीक्षक थपलियाका अनुसार पछाडिको ढोका आफैं खुलेपछि उनी गुडिरहेको एम्बुलेन्सबाट सडकमा बजारिएकी थिइन्।

बुधबार बेलुका पौने ६ बजेतिर विक गुडिरहेको एम्बुलेन्सबाट लडेर घाइते भएपछि उनलाई तत्कालै पुनः बाँकेस्थित कोहलपुर मेडिकल कलेज उपचारका लागि लगिएको थियो। त्यही उनको उपचारका क्रममा मृत्यु भएको थपलियाले बताए।

प्रहरी निरीक्षक थपलियाका अनुसार दुर्घटनामा पर्नुभन्दा पहिला विक लगायत अन्य केही मानिसहरू पनि नेपालगञ्जबाट सँगै आएका थिए। त्यसमध्ये केही बनघुस्री आएर ओर्लिए। विक पनि हाल बनघुर्सीमै बस्ने गर्छिन्। उनी बस्ने ठाउँ आइ पुग्दै थियो।

अरू ओर्लिएपछि नेपालगञ्जबाट उपचार गरेर घर पुग्दै गरेकी विक पछाडि एक्लै भइन्। बिरामी उनी आरामले ढोकामै अडेस लागेर बसिन्। तर, अरू मानिस ओर्लंदा एम्बुलेन्सको ढोका राम्रोसँग लागेको थिएन। त्यतिकै अवस्थामा एम्बुलेन्स गुडिरहेको थियो। त्यही क्रममा एक्कासि एम्बुलेन्सको पछाडिको ढोका खुल्यो।

विक एकाएक सडकमा बजारिन पुगिन्। टाउको लगायत शरीरका विभिन्न भागका चोट लाग्यो। अचेत उनलाई फेरि सोही एम्बुलेन्सले उपचारका लागि कोहलपुरमा पुर्‍याएको थियो। कोहलपुर मेडिकल कलेजमै उपचारका क्रममा विकको मृत्यु भयो।

स्रोत : सेतोपाटी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *