Sajhamanch Archive

मिलनचोक टोल विकास संस्थाले समुदायको हितमा नमूना कार्यक्रम सञ्चालन गर्ने

Published: (Updated: ) in लोकप्रिय, समाज by .

मेचीनगर । काँकडभिट्टास्थित मिलनचोक टोल विकास संस्थाले समुदायको हितमा नमूना कार्यक्रम सञ्चालन तय गर्दै आफ्नो ११ औं वार्षिक साधारणसभा हालै सम्पन्न गरेको छ ।

मेचीनगर नगरपलिका वडा नं. ६ का वडाध्यक्ष ललित तामाङको प्रमुख आतिथ्यमा सम्पन्न साधारणसभाले टोलका कुनैपनि घरको छतबाट बाटोमा पर्नेगरी पानी नफाल्ने निर्णय गरेको छ । करिव ३ विगाहा भूगोलमा १९६ जनाको बसोबास रहेको मिलनचोक टोलमा रहेको काँकडभिट्टाको मुख्य सब्जीमण्डी व्यवस्थित गर्न वडा कार्यालय र नगरपालिकाको ध्यानाकर्षण गराइएको छ ।

जातजाति, भाषाभाषी, धर्म, सम्प्रदाय सबै हिसावले टोल विकास संस्था समावेशी रहेको जनाउँदै संस्थाका अध्यक्ष नरेन्द्रप्रकाश सिटौलाले सामाजिक सद्भावयुक्त समाज रहेको प्रतिवेदनमा उल्लेख गरेका छन् ।

संस्थाले टोलबासीको सानो पुँजी आवश्यकतालाई पूरा गर्न मासिक बचत कार्यक्रम सञ्चालन गरेको छ । कोषमा गत असार मसान्तसम्ममा १२ लाख रूपैयाँ जम्मा भएकोमा संस्थाका सदस्यहरूले न्यून ब्याजदरमा उपभोग गरिरहेको कोषाध्यक्ष सावित्रा अधिकारीद्वारा प्रस्तुत प्रतिवेदनमा जनाइएको छ ।

संस्थाका अध्यक्ष नरेन्द्रप्रकाश सिटौलाको अध्यक्षतामा सचिव विशाल तामाङले साधारणसभा कार्यक्रम सञ्चालन गरेका थिए । मेचीनगरमा नै सबैभन्दा पहिले खुल्ला दिसामुक्त घोषणा भएको उक्त टोलमा संस्थाले वातावरणीय सन्तुलनका लागि सडकपेटीमा फूल लगायत बनस्पति रोपेको जनाइएको छ । गतवर्षजस्तै संस्थाको स्थापना दिवसमा वर्षमा एकपटक कुनै एक असहाय संस्थालाई आर्थिक सहयोग गरि लोककल्याणकारी काम गर्ने साधारणसभाको निर्णय छ ।

संस्थाकै भूगोलभित्र पर्ने विपी पुष्पलाल बाटिकालाई थप व्यवस्थित गर्ने काममा लागेका रामबहादुर तामाङसहितलाई बधाई दिँदै पर्यटकीय क्षेत्र बनाउन लागिपर्ने सबैलाई धन्यवादसहित शुभकामना व्यक्त गरिएको छ ।

टोल विकास संस्थाको साधारणसभाले आफ्नो भूगोलभित्र घर, जमिन भएका तर संस्थाको सदस्य नबनेका बासिन्दालाई सदस्यताका लागि पुनः आग्रह गर्दै यसको बेवास्ता गरेमा आवश्यक सिफारिस गर्न बाध्य नभइने निर्णय गरेको छ ।

विपदमा आर्थिक सहयोग लिएर बाँच्न कठिन हुँदो रहेछ भन्ने पछिल्लो चार महिने लकडाउनबाट प्रष्ट भएको स्मरण गराउँदै संस्थाले आफ्नो भूगोलका सबै घरधनी र भाडावाललाई बैंक वा सहकारीमा खाता खोलेर आम्दानीको सानो अंश नियमित बचत गर्न आग्रह गरेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *