तापक्रम वृद्धि नरोकिए पृथ्वी ‘हटहाउस अर्थ’ बन्ने
Published: (Updated: )
by .जलवायु परिवर्तनका कारण भएको तापक्रम वृद्धि नियन्त्रणमा लिन नसकिए पृथ्वीको प्राकृतिक शक्ति गम्भीर खतरामा पर्न सक्ने वैज्ञानिकहरुले चेतावनी दिएका छन्।
अहिलेकै अवस्था रहने हो भने पृथ्वी चाँडै नै ‘हटहाउस अर्थ’ बन्ने अनुसन्धानकर्ताले बताएका छन्। सन् २०१५ मा भएको पेरिस जलवायु सम्झौताअनुसार देशहरुले कार्बनडाइअक्साइडको उत्सर्जन कम गर्न सफल भए पनि केही दशकमा पृथ्वी ‘हटहाउस अर्थ’ बन्ने जोखिम रहेको अनुसन्धानले देखाएको छ।
विश्वको तापक्रम दुई डिग्री सेन्टिग्रेडले बढेमा हामी बस्दै आएको ग्रह (पृथ्वी) हटहाउस अर्थ बन्ने खतरा रहेको अनुसन्धान प्रतिवेदनमा उल्लेख गरिएको छ। अमेरिकाको नेशनल एकेडेमी अफ साइन्सेजका लागि जलवायु परिवर्तनको क्षेत्रमा अनुसन्धान गरिरहेका अन्तर्राष्ट्रिय वैज्ञानिकको समूहले तयार पारेको अनुसन्धानात्मक जर्नलमा अहिले तोकिएभन्दा पनि तीव्र गतिमा कार्बन उत्सजर्न कम नगरिए केही दशकभित्रै पृथ्वीको तापक्रम मानवसहितका प्राणीले थेग्न नसक्ने गरी बढ्ने उल्लेख गरिएको छ।
हरेक वर्ष पृथ्वीको जंगल, समुद्र तथा जमिनबाट ४.५ बिलियन टन कार्बन लिने गरेको छ। यो कार्बन यसरी जंगल, समुद्र र जमिनमा विलय नभएको भए हाम्रो वायुमण्डलको ताक्रम बढ्ने थियो।
तर विश्वले तापक्रमण वृद्धिको अनुभव गरिरहेका बेला प्राकृतिक स्रोतमा विलय भएको यो कार्बन पुनः कार्बन उत्सजर्नको स्रोत बन्ने र यसले जलवायु परिवर्तनलाई थप गम्भीर बनाउने खतरा रहेको वैज्ञानिकले बताएका छन्।
सन् २०१५ यता विश्व समुदाय तापक्रम वृद्धि दुई डिग्री सेन्टिग्रेडभन्दा कम गर्न प्रतिवद्ध रहेका छन्। उनीहरुले यसलाई १.५ डिग्रीमा सीमित गर्ने प्रयास पनि गरिरहेका छन्। यसका लागि काबर्न उत्सर्जन कम गर्न लागेका छन्। तर अहिलेको प्रयास मात्रै काफी नहुने वैज्ञानिकले बताएका हुन्।
Comments