Sajhamanch Archive

निषेधाज्ञाको उल्लंघन नगर्न मोरङ प्रशासनको चेतावनी

Published: (Updated: ) in राष्ट्रिय समाचार, विविधा, स्थानीय तह by .

विराटनगर । जिल्ला प्रशासन कार्यालयले विराटनगर महानगरपालिकासहित मोरङका चार स्थानीय तहमा गरिएको निषेधाज्ञा उल्लंघन नगर्न चेतावनी दिएको छ ।

समुदायमा फैलिएको कोरोना भाइरस संक्रमणको अवस्था भयावह बनेपछि निषेधाज्ञाको निर्णय लिनु परेको जनाउँदै प्रशासनले उल्लंघन नगर्न सुरुमै सबैलाई सचेत गराएको हो । यसअघि प्रदेश १ को राजधानी विराटनगर महानगरपालिका ‘लकडाउन’मा सीमित थियो ।

मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले संक्रमण नियन्त्रण गर्न र फैलन नदिन निषेधाज्ञा गर्नु परेको जनाउँदै उल्लंघन गर्नेलाई तत्काल कारबाहीको दायरामा ल्याइने जानकारी दिए । उनले निषेधाज्ञाको अवधिमा अनआवश्यक हिँडडुल गर्ने, घरबाट बाहिर निस्कने, बजार र पसल खुल्ला राख्ने, यातायातका साधन सञ्चालन गर्ने, भीडभाड गर्न खोज्ने लगायत रोक लगाइएका गतिविधी गरेमा पक्राउ गरेर छ महिनासम्म कैद सजाय गरिने स्पष्ट पारे ।

जिल्ला सुरक्षा समितिको शुक्रबार दिउँसो बसेको बैठकले राति १२ बजेबाट निषेधाज्ञा गर्ने निर्णय गरेको थियो । त्यसअनुरुप निषेधाज्ञा सुरु भइसकेका कारण नियमको सबैले पालना गर्न आवश्यक रहेको प्रजिअ निरौलाको भनाइ छ । निषेधाज्ञा पालना गराउन रातिदेखि नै विराटनगर लगायत विभिन्न स्थानीय तहका वडावडामा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

निषेधाज्ञा आगामी १० गते राति १२ बजेसम्म कायम रहने छ । महानगरले यसअघि दोस्रो पटक गरेको ‘लकडाउन’ को समय शुक्रबारराति सकिनुअघि सुरक्षा समितिले निषेधाज्ञा आवश्यक रहेको निस्कर्ष निकालेर निर्णय लिएको हो ।

मोरङमा संक्रमणका कारण बढी प्रभावित बनेका ठाउँलाई लक्षित गरेर निषेधाज्ञा गरिएको छ । विराटनगर महानगरका सबै वडा र रंगेली नगरपालिका, कटहरी तथा बूढीगंगा गाउँपालिकाको केही वडाहरुमा निषेधाज्ञा गरिएको हो । बूढीगंगा र कटहरी विराटनगरसँग सीमा जोडिएका स्थानीय तह हुन् । रंगेली नगरपालिकाको ४, ५, ६ र ७ नम्बर वडामा मात्रै यो लागू हुनेछ । त्यस्तै कटहरी गाउँपालिकाको १, २, ३, ४ र ५ तथा बूढीगंगाको १, २, ३ र ४ नम्बर वडामा निषेधाज्ञा गरिएको छ ।

प्रजिअ निरौलाले कोरोना नियन्त्रणलाई प्रभावकारी बनाउन सबै पक्षको सहयोग आवश्यक रहेको बताए । ‘समुदायस्तरमा कोरोना संक्रमण फैलिएर नियन्त्रण असम्भव जस्तै बनिसक्यो,’ निरौलाले भने, ‘यसअघि ‘लकडाउन’ गरिए पनि त्यति प्रभावकारी नभएको पाइएपछि कडा कदम चाल्नु पर्ने अवस्था आएको हो ।’

उनका अनुसार निषेधाज्ञाको अवधिमा कलकारखाना, उद्योग सञ्चालनमा भने रोक लगाइएको छैन । निषेधाज्ञामा पसल र बजार खोल्न, हिँडडुल गर्न, सवारी साधन सञ्चालन गर्न पाइने छैन । होटल, रेष्टुुराँ, सैलुन, तथा ई रिक्सा पनि सञ्चालनमा रोक लगाइएको छ ।

मोरङ जिल्लाभरी र राजमार्ग क्षेत्रमा प्रत्येक दिन राति ९ बजेबाट बिहान ५ बजेसम्म यातायात चलाउन एवं हिँडडुलमा पूर्ण रुपमा रोक लगाइएको छ । भन्सारस्थित एकीकृत जाँच चौकीबाट निकासी, पैठारी र नेपाली नागरिकलाई स्वदेश आउन सहज गर्ने गरी रानी नाकाबाट भित्रिने नेपाली बाहेक अन्य आवागमनलाई समेत रोक लगाइएको छ ।

फलफूल, तरकारी, खाद्यान्न पसल बिहान ९ बजेसम्म खोल्न मिल्ने छ । औषधि पसल, अस्पताल खोल्न तथा एम्बुलेन्स लगायतका अति आवश्यकीय सवारी साधन सञ्चालन गर्न पाइने निरौलाले बताए । सर्वसाधारणले पनि अति आवश्यकीय सामग्री खरिदका लागि नियमको पालना गर्दै जान पाउने उनको भनाइ छ ।

मोरङमा हालसम्म कोरोनाका कारण १३ जनाको मृत्यु भइसक्यो । जिल्लाभर एक हजार दुई सय बढीमा संक्रमण पुष्टि भइसकेको छ ।

मोरङमा विराटनगर सबैभन्दा बढी कोरोनाबाट प्रभावित बनेको स्थानीय तह हो । विराटनगरमा शुक्रबारसम्ममा सात सय ७४ जनामा संक्रमण पुष्टि भइसकेको छ । जनाले ज्यान गुमाइसकेका छन् । बूढीगंगामा दुई र रंगेलीमा एक जनाको मृत्यु भइसकेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *