Sajhamanch Archive

सिन्धुपाल्चोक पहिरो : पिठयूँमा छोरी बोकेकै अवस्थामा चार महिनाको गर्भवतीको शव फेला

Published: in राष्ट्रिय समाचार, समाज by .

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको जुगल–२ लिदीमा गएको पहिरोमा पुरिएकी एक महिलाको शव चार वर्षकी छोरी पिठ्यूँमा बोकिरहेको अवस्थामा भेटिएको छ ।

सानुकान्छी दोङ र चार वर्षकी छोरी करिश्माको शव पहिरो गएको ९ दिनपछि शनिबार भेटिएको हो । उनी चार महिनाकी गर्भवती पनि रहेको स्थानीयबासीले बताएका छन् । उनका श्रीमान् र सासू भने घरबाहिर भएकाले बाँच्न सफल भएका छन् । श्रीमान् च्याङ्वा दोङ च्याउ खोज्न गएको र सासू काममा गएकाले पहिरोबाट बँच्न सफल भएका हुन् ।

प्रहरीका अनुसार उनी छोरी बोकेर भाग्दै गर्दा पहिरोले थिचेको हुन सक्ने अनुमान गरिएको छ । पहिरो जानु अघि पहिरोको डरले लिदीका स्थानीयबासी रातको समयमा घर बाहिर बस्ने गरेका थिए ।

गएको साउन ३० गते बिहान गएको पहिरोमा परेर ३९ जना हराएकोमा ३२ जानको शव भेटिएको छ । अझै ७ जना हराइरहेका छन् । पहिरोले १३ घर पूर्ण रुपमा पुरिएका छन् । ३७ घरलाई आंशिक क्षति पुगेको छ ।

हराइरहेकाहरुको खोजी भइरहे पनि पर्याप्त साधन स्रोतको अभावमा खोजी कार्यमा ढिलाइ भएको छ । पर्याप्त स्रोत र साधन नहुँदा बेपत्ताको खोजीमा कठिनाइ भएको शसस्त्र प्रहरी निरीक्षक शितल श्रेष्ठले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *