Sajhamanch Archive

आइसोलेसन कक्ष तोडफोड गरेको आरोपमा क्याम्पस प्रमुख तिम्सिना पक्राउ

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by .

संखुवासभा । संखुवासभाको हिमालय किरण क्याम्पसमा कोरोना संक्रमित राख्न बनाइएको आइसोलेसन तोडफोड गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ। आइसोलेसन तोडफोड गरेको आरोपमा प्रहरीले हिमालय किरण क्याम्पसका प्रमुख डा. मात्रिका तिम्सिनालाई पक्राउ गरेको हो।

जिल्ला अस्पतालले शुक्रबार किटानी जाहेरी दिएको आधारमा क्याम्पस प्रमुख तिम्सिनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिए। क्याम्पस प्रमुख तिमल्सिनाको अगुवाईमा आइसोलेसन तोडफोड भएको आरोपमा प्रहरीले शुक्रबार पक्राउ गरे पनि शनिबार मात्रै सार्वजनिक गरेको हो। तिम्सिनालाई अपराधिक उपद्रव गर्न नहुने मुद्दामा अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक राईले बताए।

प्रहरीले घटनाको दुई दिन बित्दासमेत तोडफोडमा संलग्न अन्यलाई पक्राउ गर्न सकेको छैन। घटनास्थलमा सिसी क्यामेरा समेत जडान भए पनि भिडियो फुटेजबारेमा प्रहरीले कुनै जानकारी दिएको छैन। जिल्ला अस्पताल संखुवासभाका अनुसार आइसोलेसनमा प्रयोग गर्न राखिएका सामग्री बिहीबार राति तोडफोडपछि हराएका थिए । तोडफोडका क्रममा करिब १५ लाख रुपैयाँ बराबरको सामग्री चोरी भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट सुन्दर श्याम झाले बताए ।

आइसोलेसन सेन्टरमा राखिएका ७० पीपीई सेट, प्यासेन्ट मनिटर, सक्सन मेसिन, अक्सिजन मेसिन, अक्सिजन डिभाइडर लगायतका सामग्री क्याम्पसमा बनाइएको आइसोलेसनबाटै हराएको अस्पताल प्रशासनले जनाएको छ। आइसोलेसनमा ३ जना कोरोना संक्रमितको उपचार भइरहेको अस्पतालका प्रवक्ता सुजता पौडेलले जानकारी दिएकी छन्।

तोडफोडपछि नयाँ स्वास्थ्य सामग्री लगेर ३ जना कोरोना संक्रमितलाई राखिएको उनको भनाइ छ। अस्पतालले करिब पाँच महिना अगाडि क्याम्पसमा आइसोलेसन निर्माण गरेको थियो। गत २५ साउनमा सरकारले नै विद्यालय र क्याम्पसमा भएको क्वारेन्टाइन र आइसोलेसन हटाउने निर्णय गरे पनि  कार्यान्वयन नगरिँदा क्याम्पस प्रशासनले पटक पटक पत्राचार गरिरहेको जनाइएको छ ।

टोल विकास संस्थाहरुले स्थानीयस्तरमा कोरोना फैलन सक्ने भन्दै आइसोलेसन हटाउन माग गदै आएका थिए। अर्को व्यवस्था नहुन्जेल लागि आइसोलेसन निर्माण गरिएको भए पनि पाँच महिना बित्न लाग्दासमेत आइसोलेसन नहटाएको भन्दै टोल विकास संस्थाहरुले विरोध जनाएका थिए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *