Sajhamanch Archive

हङकङमा एउटै व्यक्तिमा देखियो दोस्रोपटक कोरोना संक्रमण, दुर्लभ घटना भन्दै बैज्ञानिकहरु आश्चर्यमा

Published: in विश्व समाचार by .

काठमाडौं । हङकङमा एउटै व्यक्ति दुई पटक कोरोना भाइरसबाट संक्रमित भएका छन् । यो संसारकै पहिलो घटना भन्दै बैज्ञानिकहरुले आश्चर्य व्यक्त गरेका छन् । पहिलो पटक साढे चार महिना अगाडि कोरोनाबाट संक्रमित भएका उक्त व्यक्ति ३० वर्षभन्दा बढी उमेरको भएको जनाइएको छ । एउटै व्यक्ति दुई पटक कोरोनाबाट संक्रमित भएको यस घटनालाई बैज्ञानिकहरुले दुर्लभ भनेका छन् ।

ती व्यक्ति कोरोना संक्रमण ठीक हुनुभन्दा अगाडि १४ दिनसम्म अस्पतालमै रहेको पनि हङकङ्ग विश्वविद्यालयको रिपोर्टमा जनाइएको छ । संक्रमण निको भएर घर फर्किएका उनको एयरपोर्टमा स्वास्थ्य जाँच गर्दा दोस्रो पटक कोरोना संक्रमण पुष्टि भएको तर उनमा कोरोना संक्रमणको कुनै लक्षण भने नदेखिएको जनाइएको छ ।

लण्डन स्कुल अफ हाइजिन र ट्रपिकल साइन्सका प्रोफेसर ब्रेन्डन रेनले भन्नुभएको छ, ‘कोरोना संक्रमण दोहोरिनु निकै दुर्लभ घटना हो । यसबाट थाहा हुन्छ भाइरसले समयअनुसार आफूलाई परिवर्तन गर्दछ । त्यसैले भ्याक्सिन अत्यन्त जरुरी छ ।’ जुन व्यक्ति कोरोना संक्रमणबाट निको हुन्छ, उसको शरीरमा रोग प्रतिरोधात्मक क्षमता विकसित हुने र भाइरस फेरि फर्किन नदिने वैज्ञानिकहरुले बताइरहँदा यो घटना सार्वजनिक भएको हो । त्यसरी निको भएको व्यक्तिमा रोग प्रतिरोधात्मक क्षमता कति लामो समयसम्म रहन्छ भन्ने कुरा भने स्पष्ट भएको छैन ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *