Sajhamanch Archive

धरौटी बुझाउन इन्कार गर्दा भद्रपुरका व्यापारी घोष जेल चलान

Published: in अर्थतन्त्र, मुख्य समाचार, by .

भद्रपुर । राजश्व छलेको आरोप लागेका भद्रपुरका व्यापारी सञ्जीव घोष धरौटी रकम तिर्न नमान्दा कारागार चलान भएका छन् ।

घोषलाई राजश्व छल्न नक्कली भ्याट बिल (मूल्य अभिबृद्धि कर विजक) प्रयोग गरी अवैध कारोबारको आरोपमा पक्राउ गरी राजश्व अनुसन्धान पूर्वाञ्चल क्षेत्रीय कार्यालय इटहरीले प्रारम्भिक अनुसन्धानको क्रममा एक करोड ५७ लाख धरौटी रकम बुझाउन माग गरेपछि नतिर्दा कारागार चलान गरेको हो ।

उनीसहित तीनजना कारागार चलान भएका छन् । झापा भद्रपुर बजारमा सञ्चालित शिव स्टोरका सञ्चालक सञ्जीव घोष र उनका सहयोगी भद्रपुर कै महोम्मद युवराम मियाँ र चालक विकास विश्वकर्मालाई मङ्गलबार कारागार चलान गरिएको राजश्व अनुसन्धान पूर्वाञ्चल क्षेत्रीय कार्यालय इटहरीले जनाएको छ ।

प्रारम्भिक अनुसन्धानको क्रममा एक करोड ५७ लाख धरौटी रकम बुझाउन नसकेछि उनीहरुलाई पुर्पक्षको लागि सुनसरीस्थित पूर्वाञ्चल क्षेत्रीय कारागार झुम्का पठाइएको राजश्व अनुसन्धान पूर्वाञ्चल क्षेत्रीय कार्यालय इटहरीका प्रमुख जयबहादुर भण्डारीले बताए ।

अनुसन्धान गर्दै जाँदा उक्त रकम देखिएको र आरोपितले बुझाउन नसक्ने बताए पछि तीन जनालाई नै कारागार पठाइएको भण्डारीले जानकारी दिए । कारागारमा राखेर उनीहरुको कारोबारमाथि थप अनुसन्धान अघि बढाइने भण्डारीको भनाई छ ।

पक्राउ परेपछि सुनसरी अदालतबाट पहिलो पटक सात दिन र आइतबार १५ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको थियो ।

एक हप्ता अघि घोषका दुई सहयोगीलाई कुर्ता सुरुवाल बोकेकोे मे १ च ३०४९ नम्बरको सेतो रङको मारुती भ्यानमा भन्सार तथा राजस्व छलीका कपडाहरुसहित इटहरी बसपार्कबाट जिल्ला प्रहरी कार्यलय सुनसरीले पक्राउ गरेको थियो ।

सूर्या इन्टरप्राइजेज नरदेवी काठमाडौ नामको बिल बिजकको ठेलीसहित आठ लाख ६५ हजार ७८० रुपैया मूल्य बराबरको अवैध कपडा राजश्व अनुसन्धान पूर्वाञ्चल क्षेत्रीय कार्यालय इटहरीमा प्रहरीले बुझाएको थियो ।

अनुसन्धानको क्रममा घोषको नाम आएपछि राजश्व कार्यालयले व्यापारी घोषलाई पक्राउ गरेको हो । घोषले एउटै नम्बरका भ्याट बिल ५ वटासम्म बनाएको फेला परेको कार्यालयले जनाएको थियो ।

लामो समयदेखि कपडाको कारोबार गर्दै आएका घोषले भन्सार छली गरेर ल्याएको अवैध कपडा पक्राउ परेको थियो । बारम्बार अवैध लत्ताकपडा भित्राउने घोषले अवैध रुपमा भ्याटसमेत छलेर कारोबार गर्ने गरेको कारण उनलाई पक्राउ गरी राजश्व कार्यालयले अनुसन्धान अगाडि बढाएको थियो ।

घोष पक्राउ परेपछि आवश्यक छानविनको लागि भद्रपुर र काठमाडौमा रहेका उनको गोदाममा छापा मारेको थियो । अनुसन्धानको अन्तिम टुङ्गो नलागेसम्म शिव स्टोरको कारोबार बन्द गरिएको कार्यालयले जनाएको छ ।

भद्रपुर छोटी भन्सार तथा सुनसरीको सीमा क्षेत्रबाट उनले अवैध सामग्री भित्र्याउने गरेको भन्दै प्रहरीले उनी बिरुद्ध निगरानी बढाउन थालेको थियो ।

यसैबीच प्रहरी हिरासतमा रहेका घोषलाई छुटाउन व्यापारी सङ्गठनका प्रमुख, राजनीतिक दलका केही नेता कार्यकताह र कारोबारीहरुले आन्तरिक कसरत शुरु गरे पनि सफल हुन सकेका छैनन् ।
घोषले धेरै व्यक्तिलाई विभिन्न समयमा सहयोग र उत्तिकै असहयोग पनि गरेका स्थानीयको भनाई छ ।

घोष पक्राउ परेपछि कारोबारमा संलग्न भारतीय सवारी साधनलाई भद्रपुर क्षेत्रबाट भारत भगाइएको थियो । भारतीय नम्बर उल्लेख गरिएका सवारी साधनमा पनि कारबाही पर्ने डरले उनका सहयोगीले त्यस्ता साधन भारत पठाएको व्यापारिक स्रोत बताउँछ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *