शिवसताक्षीका कृषकलाई ५० बोरा मल, हात्तीको मुखमा जिरा
Published:
by .शिवसताक्षी । लामो समय रासायनिक मलको पर्खाइमा रहेका शिवसताक्षीका कृषकका लागि आएको मल हात्तीको मुखमा जीरा जस्तै भएको छ ।
शिवसताक्षी ११ स्थित जोरपोखरी कृषि सहकारी संस्थाको पसलमा मल आएपछि शिवसताक्षीका कृषकको भीड लागेको छ ।
विगत ६ महिना अघिदेखि बजारमा चरम अभाव भएको युरिया लिनका लागि कृषकहरु बिहान ५ बजेदेखि उक्त पसलमा लाइन लागेका थिए ।
साल्ट ट्रेडिङ कर्पोरेसन, विर्तामोड मार्फत ५० बोरा युरिया मल उपलब्ध भएपछि नगरका ७, ९, १० र ११ वडाका करीब ३ सय बढी कृषकहरु मल लिन आएका थिए । तर, मल लिन आएका कृषकहरुलाई प्रतिव्यक्ति ५ केजीसम्म मात्र उपलब्ध गराउन सकिने संस्थाका सञ्चालक भोजराज ढकालले बताए।
यता कृषकहरु भने कम्तीमा पनि २० केजीसम्म मल पाउने कुरामा अडिग रहेपछि मल बाँड्नमा असहजता भएको थियो ।
कृषक र सहकारीका सञ्चालक बीच सहमति भएपछि मल वितरण सुरु गरिएको थियो । ढकालका अनुसार माग भन्दा कम मल आएपछि बाध्य भएर पाँच केजीका दरले मल वितरण गरिएको हो ।
आफ्नो डेढ विगाह जमिनमा लगाएको अन्नबालीलाई ५ केजी केही नहुने कृषक पदम बास्कोटा बताउँछन् ।
अर्का कृषक जयप्रकाश पौडेलले सरकारले थोरै मल उपलब्ध गराएर कृषक माथि अन्याय गरेका भन्दै आक्रोश पोखेका थिए । उनले भने कृषि प्रधान देश भनेर मात्र हुँदैन सरकारले कृषकका लागि कृषि उत्पादनमा आवश्यक सामाग्री उपलब्ध गराउने समाथ्र्य पनि राख्नु पर्छ ।
शिवसताक्षीका अधिकांश मानिसहरु कृषि पेशामा आश्रित छन् । सरकारले समयमा नै कृषि सामाग्री उपलब्ध गराउँन नसक्दा कृषकमा थप चिन्ता थपिएको छ ।
Comments