Sajhamanch Archive

मोरङमा बालिका बलात्कृत, सुरुमा आफन्त बालकहरु प्रयोग, त्यसपछि आफूले गरे बलात्कार

Published: in समाज by .

मोरङ । मोरङको बेलबारी–११ स्थित जङ्गलमा निगुरो टिप्न गएकी १६ वर्षीया दलित बालिका बलात्कृत भएकी छन् ।

जङ्गल गएकी बालिकामाथि मङ्गलबार अपरान्ह ४० वर्षीय होम तामाङले बलात्कार गरेको बेलबारी प्रहरीले जनाएको छ । प्रहरीका अनुसार छिमेकी बालबालिकासँग उनी निगुरो टिप्न गएका थिए । बालिकासँग रहेका अन्य बालकहरूलाई नियन्त्रणमा लिएर तामाङले बालिकालाई बलात्कार गरेको इलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर ऋषिराज ढकालले बताए ।

नियन्त्रणमा लिएका बालकहरूलाई पालैपालो बालिकामाथि बलात्कार गर्न लगाएर उनले पनि बलात्कार गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको इन्स्पेक्टर ढकालले बताए । अन्य बालकहरू पनि दलित समुदायकै रहेको उनले बताए । ती बालकहरू ११ देखि १३ वर्षसम्मका छन् । ‘डर, धम्की र त्रास देखाउँदै तीन जना कलिला उमेरका बालकलाई नातासम्बन्धकी बालिकामाथि बलात्कार गर्न लगाएर त्यसपछि तामाङ आफूले पनि बलात्कार गरेको पाइयो’ –इन्स्पेक्टर ढकालले भने ।

बालकहरूले अस्वीकार गरेपछि हातमा लाठी लिएर तामाङले ज्यान लिनेसम्मको धम्की दिएको अनुसन्धानमा खुलेको उनले बताए । आफूमाथि धम्की आएपछि डरका कारण बालबालिका चुपचाप तामाङले भनेअनुसार गर्न र घटना सहन बाध्य भएको पाइएको छ । प्रहरीका अनुसार बालकहरूलाई प्रयोग गरिसकेपछि तामाङले उनीहरूकै अगाडि बालिकालाई बलात्कार गरेको पत्ता लागेको छ ।

यसलाई प्रहरीले अनौठो घटनाका रूपमा लिएर अनुसन्धान अघि बढाएको छ । निगुरो टिप्न लक्ष्मी सामुदायिक वनमा गएका बालबालिका आफूहरूमाथि अमानवीय घटना भएपछि निगुरोसमेत नलिइकन घर फर्किएको बालिकाका एक आफन्तले बताए । चारै जनाको व्यवहार अरू बेलाको भन्दा फरक रहेको पाइएपछि आफन्त र परिवारका सदस्यले सोधीखोजी गर्दा घटना बाहिरिएको थियो ।

‘शुरुमा बालकहरूलाई बलात्कार गर्न लगाएपछि तिनै बालकहरूलाई अगाडि राखेर तामाङले पनि बालिकालाई बलात्कार गरेछन्’ एक आफन्तले भने, ‘एकान्त जङ्गल बीचमा घटना भएकाले उनीहरूले भाग्ने र बच्ने मौकै पाएनछन् ।’ तामाङले भोलिपल्ट पनि घर–घरमा पुगेर सबैलाई भेट्दै घटनाका बारेमा कसैलाई नभन्न पुनः दबाव दिएको उनले बताए ।

घटनाका बारेमा थाहा भएपछि बालिकाका अभिभावक र आफन्तले इलाका प्रहरी कार्यालय बेलबारीमा तामाङविरुद्ध बुधबार किटानी जाहेरी दिएका छन् । प्रहरीले घटनाका बारेमा बालकहरूसँग पनि सोधपुछ गरिरहेको छ । इन्स्पेक्टर ढकालका अनुसार तामाङले धम्की दिएर आफूहरूलाई यस्तो कार्य गर्न लगाएको बालकहरूले बताएका छन् । ‘घटनापछि चारै जना डराएका छन् । राम्ररी कोहीसँग पनि बोल्न मान्दैनन्’ उनले भने, ‘उनीहरू सबै मानसिक रूपमा विक्षिप्त जस्तो देखिन्छन् । कोही नयाँ मान्छे देख्दा केही गरिहाल्छन् कि जस्तो मान्छन् ।’

घटना बाहिरिएपछि बलात्कारमा संलग्न तामाङ फरार रहेकाले खोजी थालेर घटनाको गम्भीर ढङ्गले अनुसन्धान अघि बढाइएको उनले जानकारी दिए । पहिलेदेखि नै बोलाउने, जिस्क्याउने र अनेक हिसाबले प्रलोभनमा पार्ने काम तामाङले गर्ने गरे पनि गाउँकै चिनजानका व्यक्ति भएकाले आफूले वास्ता नगरेको बालिकाले प्रहरीलाई बताएकी छन् । शरीरका केही भागमा चोटसमेत लागेकी बालिकालाई उपचार र स्वास्थ्य परीक्षणका लागि बिहीबार विराटनगरको कोशी अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

प्रारम्भिक स्वास्थ्य परीक्षणबाट बलात्कारको पुष्टि भएको प्रहरीले जनाएको छ । बालिका र उनकी आमासँग बिहीबार विराटनगर जानेसमेत खर्च नभएपछि स्थानीयले सङ्कलन गरेर एक हजार पाँच सय रुपैयाँ दिएका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *