Sajhamanch Archive

बालबालिकामा कोरोनाको गम्भीर संक्रमण दुर्लभ, मृत्यु झनै दुलर्भः अनुसन्धान

Published: in मिडियाबाट साभार, विश्व समाचार, स्वास्थ्य by .

एजेन्सी । वयस्कभन्दा बालबालिका तथा किशोरहरुमा कोभिड–१९ को संक्रमण दुर्लभ भएको र यसबाट मृत्यु हुने सम्भावना झनै दुर्लभ भएको बेलायतमा गरिएको एक अनुसन्धानले बताएको छ ।

बेलायतका १ सय ३८ अस्पतालमा भर्ना भएका बिरामीमध्ये एक प्रतिशतभन्दा कम बालबालिका थिए र तीमध्ये एक प्रतिशतभन्दा कम वा ६ जना बालबालिकाको मात्रै मृत्यु भएको अनुसन्धानले देखाएको छ । मृत्यु भएकाहरु पनि पहिले नै कुनै रोगबाट ग्रस्त भएको बताइएको छ ।

‘हामी निश्चित रुपमा यो भन्न सक्छौं कि कोभिडले बालबालिकालाई खासै हानी पुर्याएको छैन,’ अनुसन्धानमा संलग्न बेलायतस्थित युनिभर्सिटी अफ लिभरपुलका प्राध्यापक माल्कोम सेम्पलले बताए ।

‘यो अनुसन्धानमार्फत् के पत्ता लागेको छ भने कोभिड–१९ ले भयानक संक्रमण गर्ने सम्भावना न्यून न अझ यसबाट मृत्यु हुने सम्भावना झनै कम छ । तसर्थ अभिभावकले आफ्नाा सन्तानलाई पुनः विद्यालय पठाउन त्यति विचलित हुनु पर्नेछैन ।’

विश्वव्यापी रुपमा हेर्ने हो भने कोरोनाभाइरस महामारीले बालबालिका तथा किशोरलाई १ देखि २ प्रतिशत मात्रै प्रभाव पारेको छ । संक्रमण देखिएका बालबालिकामा पनि कोहीमा हल्का लक्षण देखिएको छ भने कसैमा लक्षण नै देखिएको छैन । यसका कारण निकै थोरै मात्रै बालबालिकाको मृत्यु भएको छ ।

बीएमजे मेडिकल जर्नलमा प्रकाशित यो अनुसन्धानका लागि सेम्पलको समूहले जनवरी १७ देखि जुलाई ३ सम्म कोभिड–१९ द्वारा संक्रमित १९ वर्ष मुनिका ६ सय ५१ बालबालिका तथा किशोरहरुको अध्ययन गरेका थिए ।

स्रोत : रोयटर्स

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *