Sajhamanch Archive

मोरङमा दुई समूहबीचको झडप एकजनाको मृत्यु, चारजना घाइते

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by .

विराटनगर । मोरङको बेलबारीमा दुई समूहबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ । बेलबारी नगरपालिका वडा नं. ५ कसेनीस्थित लोहन्द्र पुलमा शुक्रबार दिउँसो एक जनाको मृत्यु भएको हो । झडपमा चारजना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रवक्ता डीएसपी मानबहादुर राईका अनुसार स्थानीय ४० वर्षका चन्द्रकुमार राईको मृत्यु भएको हो ।

खुकुरी प्रहारबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा विराट मेडिकल कलेजमा शुक्रबार दिउँसो  मृत्यु भएको हो । घटनामा घाइते भएका ४२ वर्षीय सइकुमार राई, ३२ वर्षका समुन्द्र राई १६ वर्षका गौरव राईको विराट मेडिकल कलेजमै उपचार भइरहेको छ ।

शुक्रबार दिउँसो स्थानीय ३२ वर्षीय जितेन चौधरी, २५ वर्षीय दिनेश श्रेष्ठ, ३२ वर्षीय सन्तोष मगर र विक्रम राईको समूहले बिहीबार भएको भनाभनको निहुँमा चन्द्रकुमारमाथि आक्रमण गरेको प्रहरीको भनाइ छ ।

सुरुमा चौधरीको समूहले खुकुरी र बञ्चरो लगायतका हतियारले प्रहार गरेपछि दोहोरो झडप भएको प्रहरीले जनाएको छ । अघिल्लै दिनको रिसईबीका कारण भएको ‘ग्याङ फाइटमा’ एक जनाले ज्यान गुमाएको डिएसपी राईले बताए । राईले घटनाको विषयमा अनुसन्धान भइरहेको बताए ।

कुटपिट गर्ने समूहका चौधरी पनि घाइते भएका छन् । उनलाई विराट नर्सिङहोममा उपचारका लागि पठाइएको छ । घटनामा संलग्न दिनेश श्रेष्ठ, सन्तोष मगर र विक्रम राई फरार छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *