अब कोरोनाको उपचार मेची अस्पतालको नयाँ भवनमा हुने
Published: (Updated: )
by .झापा । मेची अञ्चल अस्पतालमा भइरहेको कोरोनाको उपचार अब नयाँ भवनमा हुने भएको छ ।
आइतवारदेखि मेची अस्पतालको नयाँ भवनमा कोभिड १९ का संक्रमितहरुको अलग्गै उपचार हुने भएको हो।
यसअघि अन्य विरामी र कोभिड १९ का संक्रमितको एउटै भवनमा उपचार भइरहेको थियो ।
कोभिडको संक्रमित राख्ने रओहोरदोहोर गराउने ठाउँ एउटै भएको भनेर व्यापक गुनासो आइरहेका बेला अस्पतालले कोभिडका विरामीको उपचार अलग भवनबाट गराउने निधो गरेको हो ।
अस्पताल विकास समितिका अध्यक्ष एवम् जिल्ला समन्वय समितिका प्रमुख सोमनाथ पोर्तेलले आइतबारदेखि नयाँ भवनमा कोरोना संक्रमितलाई राखेर उपचार गर्ने जानकारी दिए ।
उनका अनुसार नयाँ भवनमा विरामीलाई राख्ने सबै तयारी पूरा भइसकेको छ । नेपाली सेनाले उपचार केन्द्रको सुरक्षाको जिम्मेवारी लिएको उनले बताए ।
एउटै भवनमा कोभिड र अन्य विरामी राख्दा सर्वसाधारण विरामी अस्पताल आउन डराएको भन्दै विभिन्न पक्षले कोभिडको उपचार अन्यत्र सार्न दबाब दिदै आएको थियो ।
नयाँ भवन हालको पुरानो भवनबाट सय मिटरको दूरीमा छ । त्यहाँ कोभिडको उपचारका लागि ८० शैया तयार गरिएको छ ।
यता पुरानो भवनमा १२ शैयाको आइसोलेसन भने नहटाइने भएको छ । शंकास्पद विरामीलाई त्यो आइसोलेसनमा राखिने छ ।
संक्रमितको उपचारका लागि अस्पतालका डा।गोविन्द कँडेलको संयोजकत्वमा ८ सदस्यीय समिति गठन गरिएको छ ।
गत साउन १९ गतेदेखि अस्पतालको पुरानो भवनको आइसोलेसन वार्डमा कोभिडका संक्रमितलाई राखेर उपचार थालिएको थियो ।
Comments