Sajhamanch Archive

७० दिनमा दिल्लीदेखि लन्डनसम्मको बस यात्रा !

Published: in विश्व समाचार by .

एजेन्सी । के तपाईँ आधा दुनियाँ बसबाटै हेर्न तयार हुनुहुन्छ ? भ्रमण कम्पनी अड्भेन्चर्स ओभरल्यान्डले आयोजना गरेको नयाँ प्याकेज अन्तर्गत भारतको दिल्लीबाट लन्डनसम्मको यात्रा विमानमा नभएर बसबाट गर्न सकिनेछ । यसमा कुनै किसिमको हवाइ यात्रा समावेश नरहेको बताइएको छ ।

‘बस टु लन्डन’ ले २० जना यात्रुहरुलाई लक्जरी बसमा राखेर दिल्लीबाट लन्डनसम्म पुर्याउनेछ जसबीच १८ वटा देशहरु पार गर्नुपर्ने हुन्छ । यो यात्रा पूरा गर्न ७० दिन लाग्नेछ । वास्तवमा यो योजना १९५० र १९६० को दशकका हिप्पी ट्रेल बसबाट प्रेरित भएको बताइएको छ । साथै यसका यात्रुहरुले गन्तव्यमा पुग्नुअगाडि म्यानमारका पगोडा अवलोकन गर्न पाउनेछन्, चीनको ग्रेटवालमा हाइक गर्न पाउनेछन् भने मस्को, प्रेगलगायत ऐतिहासिक सहरहरु पनि घुम्न पाउनेछन् ।

माथि प्रस्तुत गरिएको तस्बिर अड्भेन्चर्स ओभरल्यान्डले अहिलेका लागि बनाएको अस्थायी डिजाइन हो । यो कम्पनी तुशार अग्रवाल र सन्जय मदनले स्थापना गरेका थिए र उनीहरुले यसअघि पनि लामो दुरीको यात्राको व्यवस्था गर्दै आएका छन् जसमा यात्रुहरुले आफ्नै गाडी ल्याउनुपर्ने हुन्थ्यो । तर दुवैले ग्राहकहरुको अनुभवलाई अझ उत्साहजनक बनाउन फरक किसिमको कार्यक्रम आयोजना गर्ने निर्णय गरेका हुन् ।

यात्रा भारतबाट सुरु भएर म्यानमार हुँदै, चीनका उँचा पहाडहरु अनि किर्जकिस्तानदेखि लन्डनमा अन्त्य हुनेछ ।” यो यात्रा सस्तो चाहिँ नहुने उनीहरुले बताए । लन्डनसम्मको पूरै यात्राको भाडादर २० हजार डलर रहेको छ ।

तर यात्रुहरुले आधा वा केही अंशसम्म मात्र यात्रा गर्न पनि पाउनेछन् जसलाई कूल चार भागमा विभाजित गरिएको छ । त्यस्तै यात्रा बेलायतबाट सुरु गर्ने कि भारतबाट भन्ने छनोट गर्न पनि पाउनेछन् । भारतबाट बसमा गएका यात्रुहरु लन्डन पुगिसकेपछि फर्कनका लागि विमानको प्रयोग गर्नेछन् जसमा बसले चाहिँ लन्डनबाट नयाँ २० यात्रुहरुलाई लिएर पुनः भारत फर्किनेछ ।

अग्रवालले यो अनुभव वास्तवमै सबैका लागि जीवनकै यादगार हुने दाबी गरेका छन् जसमा गाउँदेखि सहरहरु आफ्नै आँखा अगाडि बदलिएको र फरक स्वरुपमा देख्न पाइने उनले बताए । कम्पनीले यसअघि सञ्चालन गरेको आफैँ गाडी चलाएर यात्रा गर्ने कार्यक्रमहरुमा ५ वर्षदेखि ७५ वर्ष सम्मकाले सहभागिता जनाएका थिए । उनी भन्छन्, “त्यसैले पनि यो एकपटक प्रयास गरिसकेको र परीक्षण भएको रुट हो । र सम्भव भएसम्म सुरक्षित बनाउने किसिमले यात्राको डिजाइन गरिएकोछ । साथै प्रत्येक नयाँ बोर्डरमा सो देशका ट्राभल गाइड पनि सवार हुने र ठाउँहरु सम्बन्धी जानकारी दिनेछन् ।”

यो कार्यक्रम सम्बन्धी घोषणा गरेलगत्तै विश्वभरका बसमार्फत यात्रा गर्न इच्छुकहरुबाट सकारात्मक प्रतिक्रिया पाएको र ४० हजार जतिले त थप जानकारीका लागि आधिकारिक रजिस्टर पनि गराएको उनले बताए । आफूहरुले त्यति ठूलो प्रतिक्रिया अपेक्षा नगरेको हुनाले यसबाट धेरै हौसला मिलेको उनको भनाइ रहेको सीएनएनले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *