Sajhamanch Archive

एसईईमा नम्बर कम दिएको भन्दै विद्यार्थीले शिक्षक कुटेपछि विद्यालय बन्द

Published: in शिक्षा, समाज by .

सिन्धुली । माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षामा नम्बर कम दिएको भन्दै विद्यार्थीले शिक्षकलाई कुटेपछि सिन्धुलीको सुनकोशी गाँउपालिका वडा नं.७ मझुवामा रहेको गणेश मावि सोमबारदेखि अनिश्चितकालका लागि बन्द भएको छ ।

विद्यालयका प्रधानाध्यापक नेत्रबहादुर सुनुवार र अङ्ग्रेजी शिक्षक चित्रबहादुर भण्डारीलाई एसईई परीक्षामा नम्बर कम दिएको भन्दै आइतबार दिउँसो विद्यार्थीले विद्यालयको कार्यालयमा नै प्रवेश गरी कुटेका थिए । त्यसलगत्तै शिक्षकहरुको बसेको स्टाफ बैठकले सुरक्षाको माग गर्दै कार्यरत शिक्षकले अनिश्चितकालका लागि विद्यालय बन्द गराएका हुन् ।

विद्यालयका शिक्षक झलक दाहालले शिक्षकहरु विद्यार्थीबाटै असुरक्षित भएकोले बैठक बसी सुरक्षाको माग गर्दै अनिश्चितकालीन रुपमा विद्यालय वन्द गरिएको हो । शिक्षकले नम्बर कम दिएका कारण माथिल्लो शिक्षा लिन बञ्चित हुने भन्दै तीन जना विद्यार्थी कार्यालयमा प्रवेश गरी प्रअ सुनुवार र शिक्षक भण्डारीलाई कुटपिट गरेको उनले बताए ।

स्थानीय स्वास्थ्य चौकीमा दुवै जना शिक्षकको प्राथमिक उपचार गरिएको छ । विद्यालयबाट ६० जना एसईईमा सहभागीमध्ये नौ जनाको रिजल्ट ‘सी’ आएको र तिनैमध्येका तीन जनाले कुटपिट गरेको विद्यालयले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *