कोरोना संक्रमित नै आइसोलेसन उद्घाटनमा सहभागी
Published:
by .चितवन । भदौ १४ गते भरतपुर महानगरपालिका–१ बागेश्वरीस्थित योगी नरहरीनाथ योग तथा प्राकृतिक चिकित्सालयमा महानगरपालिकाले बनाएको भनिएको आइसोलेनस सेन्टरको उद्घाटन गरियो । एकै कार्यक्रममा २५ जनाभन्दा बढी सहभागी नहुन सरकारले गरेको आग्रहलाई समेत लत्याउँदै ठूलो भिडका साथ गरिएको आइसोलेसन सेन्टरको उद्घाटन कार्यक्रममा कोरोना संक्रमित नै सहभागी भएको खुलेको छ ।
जिल्लाभर निषेधाज्ञा लागे पनि औपचारिक कार्यक्रम नै गरी सुरुवात गरिएको आइसोलेसन सेन्टरमा संघीय सांसद, प्रदेश सांसद, प्रमुख जिल्ला अधिकारी, भरतपुर महानगरपालिकाका प्रमुख, प्रहरी प्रमुखहरू लगायत जिल्लाका विशिष्ट व्यक्तित्वहरूको सहभागिता थियो । कार्यक्रममा स्वास्थ्यकर्मी, सञ्चारकर्मीको पनि उपस्थिति थियो ।
कोही पनि संक्रमित नभएको जस्तै गरी गरिएको कार्यक्रममा सहभागी एक चल्तापूर्जा र हर्तकर्ता नै व्यक्ति नै कोरोना संक्रमण पुष्टि भएको छ । सांसद तथा मेयरको अघि पछि हिँड्ने ती व्यक्ति चितवन मेडिकल कलेजको क्यान्टिन सञ्चालक पनि हुन् । उनलाई भदौ १५ गते कोरोना संक्रमण पुष्टि भएको छ । उनको सम्पर्कमा आएका सबै जसोको कोरोना परीक्षण गर्नुपर्ने भएको छ ।
चितवन मेडिकल कलेजभित्र उनले सञ्चालन गरेको क्यान्टिनमा चार जनामा कोरोना संक्रमण पुष्टि भएपछि उनी आफैँ क्वारेन्टिनमा बस्नुपर्नेमा सार्वजनिक कार्यक्रम र महत्वपूर्ण भेटघाटमा सहभागी हुँदै आएका थिए ।
कोरोना परीक्षणका लागि स्वाब दिएपछि रिपोर्ट नआइञ्जेल क्वारेन्टिनमा बस्नुपर्नेमा उनले त्यसलाई बेवास्ता गरेका थिए । उनको क्यान्टिनका संक्रमित चार जनामध्ये एक जना उनकै घर नजिक बनाइएको छाप्रोमा बस्थे । संक्रमितसँग सम्पर्कमा आएकाहरुले केहीदिनसम्म क्यान्टिन चलाएको खुल्न आएको छ । स्थानीयले उनीहरुलाई आइसोलेसनमा राख्न आग्रह गरे पनि उनले ‘तिमीहरु एमडी पढेका डाक्टर हौ रु’ भनेर धम्काउने गरेको एकजना उनका छिमेकीले अनलाइनखबरसँग बताए ।
Comments