विराटनगरमा पीसीआर मेसिन थपियो
Published:
by .विराटनगर । समुदायस्तरमा संक्रमण फैलिएको विराटनगरमाा कोरोना जाँचका लागि नयाँ मेसिन थपिएपनि परीक्षणको दर घटेको छ ।
महानगरपालिकाका मेयर भीम पराजुलीले कोरोना जाँचमा प्रदेश र संघीय सरकारले असहयोग गरेको गुनासो गरेपछि विराटनगरको निजी क्षेत्रले पीसीआर मेसिन खरिद गरेर उपलब्ध गराएको थियो । नयाँ पीसीआर मेसिन जडान भए पनि परीक्षण दायरमा भने घटेको हो । ८ भदौमा निजी क्षेत्रले पीसीआर मेसिन उपलब्ध गराएपछि सोही दिन महानगरपालिकाले जडानका लागि कोशी अस्पताल विराटनगरमा पठाएको थियो ।
मेसिनमा ९ गतेबाट परीक्षण सुरु भएको थियो । तर समुदायस्तरमा संक्रमण फैलिएको विराटनगरमा परीक्षण दर दैनिक घट्दो छ । ८ भदौसम्म विराटनगर महानगरपालिका आफैंले छ हजार ११० जनाको पीसीआर जाँचका लागि नमुना संकलन गरेको थियो । १६ भदौसम्म महानगरले जम्मा सात हजार ४९ जनाको पीसीआर जाँचका लागि स्वाब संकलन गरेको विराटनगर महानगरपालिका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले बताए ।
पछिल्लो आठ दिनमा विराटनगर महानगरपालिकाले नौ सय ३९ जनाको नमुना संकलन गरेको छ । कोशी अस्पताल र प्रदेश जनस्वास्थ्य प्रयोगशालामा सिधै सम्पर्क गरेर परीक्षण गर्नेको विवरण महानगरपालिकासँग छैन ।
महानगरको नमुना संकलन कम भएका कारण पछिल्लो समय विराटनगरमा संक्रमण दर पनि कम भएको देखिन्छ । मंगलबारसम्म विराटनगरमा संक्रमितको संख्या १०३० छ । पछिल्लो एकसातामा विराटनगरमा ८५५ जना कोरोना संक्रमित थपिएका छन् । विराटनगरका संक्रमितमध्ये ११ जनाको मृत्यु भइसकेको छ ।
Comments