Sajhamanch Archive

कालोबाट शुरु–कालैमा बिलिनः ‘ब्ल्याक’

Published: in टिप्स/जानकारी by .

झापा । नेपाली चलचित्र ‘ब्ल्याक’ भदौ १ गतेबाट देशभर एकैसाथ प्रदर्शनमा आउन लागेको छ । ‘ब्ल्याक’ युनिटले चलचित्रको प्रचारप्रसारको शुरुवात झापाको बिर्तामोडबाट गरेका छन् ।

चलचित्रका मुख्य कलाकार नायक आकाश श्रेष्ठ र नायिका आँचल शर्मालाई लिएर निर्माता निर्देशकहरु यतिबेला देश दौडाहामा निस्किएका छन् ।

चलचित्रमा आयुष रिजाल, सुशील क्षेत्री, धिरेन शाक्य, प्रिया रिजाललगायतका कालाकारको अभिनय छ । अर्जुन जिसीले सम्पादन गरेको चलचित्रमा मौनता श्रेष्ठको स्कृप्ट छ । चलचित्रमा कोरियोग्राफी रामजी लामिछानेले गरेका छन् ।

प्रदीप श्रेष्ठले निर्देशन गरेको चलचित्रलाई आश्मा पाण्डेले निर्माण गरेकी हुन् । आश्मा फिल्म्स कम्पनीको यो पहिलो चलचित्र हो ।
चलचित्र प्रेम कथामा आधारित रहेको बताइएको छ । निर्देशक श्रेष्ठले चलचित्रमा आफूले जीवनको रङ देखाउन खोजेको पत्रकारहरुमाझ बताए ।

‘समाजमा कालो रङ निकै महत्वपूर्ण छ भन्ने कुरामा म विश्वस्त छु,’ निर्देशक श्रेष्ठले भनेका छन्, ‘त्यसैले चलचित्रको नाम ब्ल्याक राखिएको हो । मानिस जन्मनु अघि कालो अँध्यारो ठाउँमा हुन्छ र मृत्यु पछि फेरि कालोमा नै बिलाउँछ भन्ने सत्य र यथार्थ कुरालाई चलचित्रमा देखाउन खोजिएको छ ।’

जन्म र मृत्युबीचको समग्र चिन्तननै ‘ब्ल्याक’ को सार भएकाले चलचित्रले दर्शकको मन छुने निर्देशक श्रेष्ठको अपेक्षा छ ।

झापा दमक घर भएकी निर्मात्री आश्मा पाण्डेले अभिभावक र बच्चाले पनि यो चलचित्र हेर्नैपर्ने बताइन् ।

चलचित्रका नायक आकाश र नायिका आँचलले चलचित्रमा आफूहरुले निकै मेहनत गरेको बताए । चलचित्रको छायाङ्कन मुस्ताङ जिल्लाको अपर मुस्ताङ, मुक्तिनाथ मन्दिर, जोमसोमसहित पोखरा, स्याङ्जा, काठमाडौँ, सिन्धुलीलगायत स्थानमा गरिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *