Sajhamanch Archive

यो वर्ष बाढी पहिरोमा परेर २७७ जनाको ज्यान गयो 

Published: in राष्ट्रिय समाचार, समाज by .

काठमाडौं । यो वर्ष वैशाखदेखि अहिलेसम्म बाढी र पहिरोका कारण दुई सय ७७ जनाको ज्यान गएको छ । पहिरोका कारण दुई सय ४५ र बाढीका कारण ३२ जनाको ज्यान गएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

पहिरोमा परेका ५१ जना र बाढीका कारण ४३ जना गरी ९४ जना बेपत्ता रहेका छन् । त्यस्तै गएको पाँच महिनामा पहिरोमा परि एक सय ९१ जना घाइते भएका छन् भने बाढीका कारण ११ जना घाइते भएको प्राधिकरणको तथ्याङ्क छ ।

यो वर्षको मनसुन सुरु भएदेखि बिहीबारसम्म मात्रै दुई सय ४३ जनाले पहिरोमा ज्यान गुमाएका हुन् । त्यस्तै बाढीमा परेर २९ जनाको ज्यान गएको छ ।

बाग्लुङमा यो वर्षको मनसुन सुरु भएयता अहिलेसम्मकै सबैभन्दा धेरै क्षति भएको प्रारम्भिक अनुमान गरिएको पनि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । बाग्लुङको ढोरपाटन नगरपालिका ७, ८ र ९ को तटीय बस्तीमा भलसहितको पहिरो पसेको र कुन ठाउँमा बस्ती थियो भनेर यकिनसमेत गर्न नसक्ने गरी बगाएको प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले बताए ।

बाग्लुङ्गको ढोरपाटनमा गएको बाढीरपहिरोमा परि अहिलेसम्म १३ जनाले ज्यान गुमाएका छन् । २५ जना हराइरहेका छन् । यसअघि साउन ३० गते सिन्धुपाल्चोकको लिदीमा गएको पहिरोमा परि ३६ जनाले ज्यान गुमाएका छन् । अझै तीन जना बेपत्ता छन् ।

यो वर्ष नदी तटीय क्षेत्रमा भेल पहिरो तथा बाढीले बढी क्षति पुर्याएको र नदी तटीय क्षेत्रको जोखिम आँकलनमा कमजोरी भएको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख पोखरेलले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *