Sajhamanch Archive

‘वडाका समस्यालाई प्राथमिकता अनुसार क्रमवद्ध पूरा गर्ने प्रयास गरिरहेको छु’

Published: (Updated: ) in अन्तर्वार्ता, मुख्य समाचार, , by .

बिरिङ र घाग्रा खोलाको बीचमा पर्ने, भौगोलिक विविधता भएको कनकाई नगरपालिका वडा नं. ९ सांस्कृतिक एवम् जात, जाति, भाषाभाषीको विविधता भएको वडा हो ।

राजवंशी, सन्थाल, तराईका माझी, यादव, साहा आदि जातजातिको बाहुल बसोबास रहेको यो वडा कनकाई नगरपालिकाकै नमूनाको रुपमा बुझ्ने गरिन्छ । सो वडालाई थप राम्रो र नमूना बनाउन वडाध्यक्ष प्रेमप्रसाद राजवंशी अग्रसर भएको बताउँछन् ।

२० वर्ष पछि भएको स्थानीय तहको चुनावमा वडाध्यक्षमा नेकपा एमालेबाट चुवा राजवंशी र नेपाली कांग्रेसबाट प्रेमप्रसाद राजवंशी मुख्य प्रतिष्पर्धी थिए । जसमा ३२४ मतले पछि पार्दै ८४५ मत ल्याएर कांग्रेसका प्रेमप्रसाद वडाध्यक्ष निर्वाचित भएका हुन् ।

आज हामीले उनै प्रेमप्रसाद राजवंशीलाई एक वर्षे कार्यकालको विषयमा अनुभव तथा अबका चार वर्षको योजनाका विषयमा जानकारी लिने प्रयास गरेका छौं ।

तपाईं निर्वाचित जनप्रतिनिधि भएको एक वर्ष भयो । यो अवधिमा वडामा कति कामहरु गर्नु भयो ?

घैलाडुब्बा बजार र पशु बजारका टहरा बनाएका छौं । बिरिङ खोलामा तार जाली हालेका छौं । घाग्रा खोलामा बाँध बाँधेका छौं । बाटाहरुको स्तरोन्नति गरेका छां, ८ किलोमिटर बाटो ग्राभेल गरेका छौं ।

युवाका क्षेत्रमा लागु औषध मुक्त युवा बनाउने कार्य गरेका छौं । महिलाका क्षेत्रमा पाँचवटा टोल विकास समिति निर्माण गरी आय आर्जनका कार्य अगाडि बढाएका छौं । खुल्ला दिसामुक्त वडा बनायौं ।

शिक्षाका क्षेत्रमा आदर्श सामुदायिक कलेजलाई शौक्षिक सामग्री खरिदका लागि वडा र नगरबाट ६ लाख रुपयाँ उपलब्ध गराएका छौं ।

इलाका प्रहरी चौकीका लागि चार कोठे पक्की भवन निर्माण गरेका छौं । साहारा नेपाल साकोस र वडाको पाँच–पाँच लाख रुपैयाँ बजेटमा ज्येष्ठ नागरिक चैतारीको दुई कोठे भवन निर्माण गरेका छौं । ज्येष्ठ नागरिक र असाहय वर्गलाई घरघरमा गएर भत्ता वितरण गरेका छौं । यस्तै यस्तै सामाजिक काम गरिरहेको छु ।

वडाध्यक्ष भनेका स्थानीय सरकारका मन्त्रीहरु हुन् । तपाईलाई पालिका सरकारले कस्तो जिम्मेवारी दिएको छ ?

नगरपालिकामा विजयी बनेका जनप्रतिनिधिहरु मध्ये नेपाली कांग्रेसबाट चुनिएका हामी थोरैजना मात्र छौं । यसैले हामीले विभागीय जिम्मेवारी पाउने कुराको सम्भावना पनि छैन । वडाध्यक्षले संयोजन गर्न पाउने विभिन्न समितिको संयोजकको जिम्मेवारी लिएको छु । आदिवासी जनजातिलाई अगाडि बढाउने तथा उसका हरेक कार्यमा सामेल गराउने तथा वडाका सम्पूर्ण कार्यहरु सञ्चालन गर्ने जिम्मेवारी दिइएको छ ।

तपाईंलाइ जनता र प्रतिपक्षी दलका कार्यकताहरुबाट साथ र सहयोग पनि मिलिरहेको छ कि ?

आफूले निर्वाचित गराएर पठाएको जनप्रतिनिधीलाई जनताले हाम्रा सबै दुःखको अन्त गरिदिन्छन्, हाम्रा सबै सम्स्याहरुको समाधान गरिदिन्छन् भन्ने आशा हुन्छ । यस्तै आशले जनताले आफूलाई साथ दिनु भएको छ र भरोसा पनि गर्नु भएको छ भन्ने मैले ठानेको छु । उहाँहरुकै निम्ति दिनरात नभनी मैले समय सुम्पिएको छु । उहाँहरु र मेरा प्रतिपक्षी सबै साथीहरुबाट साथ सहयोग हौसला सही र राम्रो मार्गनिर्देशन पाएको छु ।

२० वर्ष पछि स्थानीय सरकार गठन हुँदा जनता र तपाईंले कस्तो अनुभव गर्नु भएको छ ?

यतिका वर्ष स्थानीय निकायमा जनप्रतिनिधि नहुँदा जनता निरास थिए । तर अहिले आफूले भोट दिएर पठाएको जनप्रतिनिधि हाम्रा समग्र दुःखलाई किनारा लगाउँछन् भनेर एकदमै खुसी र हर्ष महशुस गरिरहनु भएको छ । र, मैले पनि वडाका सम्पूर्ण समस्यालाई प्राथमिकता अनुसार क्रमवद्ध गर्दै उहाँहरुको मुहारमा खुसी ल्याउने प्रयास गरिरहेको छु ।

अबका चार वर्षका तपाईंका योजनाहरु के के छन् ?

घैलाडुब्बा बजारलाई ढलयुक्त बजार बनाउने, त्यहाँका बाटाहरु पिच गर्ने, विद्युतका तार पोलको व्यवस्थापन गर्ने, स्वच्छ खानेपानीको व्यवस्था गर्ने, खेलकुदको माध्यमबाट युवालाई लागु औषधमा लाग्न नदिने प्रयास गरिरहेको छु ।

महिलाहरुको सीपलाई बजारसँग जोडेर झल्ला, पेटानी बनाउने परम्परागत पेसालाई नयाँरुपले व्यावसायिकता दिने लक्ष्य छ भने पर्यटनलाई विकास गर्नका लागि एउटा कोच संग्राहालय निर्माण भएको छ । त्यसलाई विभिन्न आदिवासी जनजाति मुख्य गरेर कोच राजवंशीका भाषा र लिपीहरुलाई समेट्ने गरी संग्राहालय बनाउने योजना छ । त्यसका लागि हामीले डिपिआर तयार गरेका छौं । यी सबैका लागि हामीले १५ लाख बजेट छुट्याएका छौं ।

कनकाई नगरको वडा नं ८ र ९ मिलेर बिरिङ नदीको १५ बिगाहा बगरमा वृक्षारोपण गरेका छौं । अब हामी त्यस ठाउँलाई पिकनिक स्पटको रुपमा विकास गरेर लैजाने तयारीमा छौं । यसका लागि संघीय सरकार समक्ष बजेटको आशा गरेका छौं । नगरपालिकाले पाँच लाख दिने भएको छ ।

बिरिङ नदीले छुट्याएको कनकाई वडा नं. ८ र ९ को सीमानामा पूल लगाउनका लागि केन्द्र र प्रदेश सरकारबाट मोटामोटी २ करोडको बजेट आएको छ । यसैवर्ष कार्य सञ्चालन गर्नेछौं । अर्को घाग्रा खोलामा पनि बिर्तामोड २ को सीमानामा पूल लगाउने योजना छ । घैलाडुब्बा बजार पश्चिम रोडदेखि चन्द्रगढी जाने ६६० मिटर लामो बाटो पिच गर्न लागेका छौं ।

वडाभित्र हाल सञ्चालनमा रहेका कलेज र स्कूलमा प्रविधिक र व्यावसायिक शिक्षाको सुरुवात गर्ने योजनामा छौं ।

यो वडा आदिवासी जनजातिको बहुल बसोबास भएको क्षेत्र हो । यस्तो जातिको संरक्षण र उत्थान लागि कस्ता कार्यक्रम र योजनाहरु बनाउनु भएको छ ?

आदिवासी जनजातिका महिलाहरुलाई लक्षित गरी आय आर्जनका कार्यक्रम ल्याएका छौं । उहाँहरुको भाषा, भेषभुषा र बाजागाजाको संङ्कलन गरेर विकास गर्ने यसका लागि हामीले २ लाख बजेटको व्यवस्थापन गरेका छौं ।

तपाईका वडाबासीको जीवनशैली कस्तो छ ?

मुख्यरुपमा आदिवासी जनजाति बसोबास भएको क्षेत्र भएकाले केहीको जीवनशैली दयानीय छ । बस्ने घर जग्गा छैन । हामी यसलाई परिवर्तन गर्न लागिरहेका छौं । मेयर आवास योजना अन्तर्गत वर्षमा १० वटा घरहरु बनाएर वितरण गर्न योजना सुरु भएको छ ।

प्रस्तुतिः ज्ञानु घिमिरे

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *