Sajhamanch Archive

विराटनगरका दुईजना कोरोना संक्रमित महिलाको मृत्यु

Published: in विविधा, स्थानीय तह, स्वास्थ्य by .

विराटनगर  । कोरोना भाइरसबाट संक्रमित बनेका विराटनगर महानगरपालिका घर भएका दुईजना महिलाको मृत्यु भएको छ ।

उपचारका क्रममा एकजनाको विराटनगरस्थित कोशी अस्पताल र एकजनाको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको हो । कोशी अस्पतालमा मृत्यु भएकी महिलाको भने शनिबार बिहान ८ बजेतिर रिपोर्ट पोजेटिभ आएको अस्पतालका बरिष्ठ फिजिसियन डा। लक्ष्मीनारायण यादवले जानकारी दिए ।

विराटनगर महानगरपालिका–४ की ६४ वर्षीया महिलालाई ज्वरो, झाडापखाला र श्वासप्रश्वासमा समस्या भएपछि उपचारका लागि शुक्रबार दिउँसो ३ बजेतिर कोशी अस्पताल लगिएको थियो । आइसोलेसनमा भर्ना गरेर उपचार थालिएकी उनको साँझ ७ः३० बजेतिर मृत्यु भएको अस्पतालका आइसोलेसन संयोजकसमेत रहेका डा। यादवले बताए ।

स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएकी मृतक महिलाको मृत्यु भएको १२ घण्टापछि रिपोर्ट पोजेटिभ आएको उनको भनाइ छ । यादवका अनुसार प्रदेश १ को जनस्वास्थ्य प्रयोगशालामा स्वाब परीक्षण गरिएको हो ।

त्यस्तै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा विराटनगर घर भएकी कोरोना संक्रमित एकजना महिलाको मृत्यु भएको छ । विराटनगर महानगरपालिका–११ की ४३ वर्षीया महिलाको शुक्रबार साँझ ६ः३० बजेतिर मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा। निदेश सापकोटाले बताए ।

संक्रमित महिलामा पेट र छात्ती दुख्ने तथा श्वासप्रश्वासमा समस्या भएपछि विराटनगरको न्युरो अस्पतालले महिलालाई थप उपचारका लागि प्रतिष्ठान रेफर गरेको थियो । महिलामा चार वर्षदेखि उच्च रक्तचापको समस्या रहेको डा। सापकोटाले बताए ।

स्वाब संकलन गरेर प्रदेश १ जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणपछि मृतकमा भदौ १७ गते कोरोना पुष्टि भएको थियो । कोरोना देखिएपछि न्युरोबाट रेफर गरिएकी महिलालाई भदौ १८ गते बिहीबार बिहानदेखि प्रतिष्ठानमा भर्ना गरेर उपचार थालिएको थियो ।

डा। सापकोटाले मृतकको शवको व्यवस्थापन नियम अनुसार गरिने जानकारी दिए । हालसम्म प्रतिष्ठानमा उपचाररत २२ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *