कनकाईको समुदायमा कोरोना संक्रमण दर उच्च
Published:
by .कनकाई । झापाको कनकाई नगरपालिकाको समुदायमा कोरोना संक्रमण दर उच्च देखिएको छ ।
पछिल्लो पटक कनकाई नगरपालिकामा १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नगरपालिकाका ६२ जनाको स्वाब संकलन गरी पिसिअर परिक्षणका लागि विराटनगर पठाइएकोमा १० जनाको रिर्पोट पोजेटिभ आएको सुचना तथा संचार केन्द्र कनकाईका सदस्य लक्ष्मी अधिकारीले बताए । १० जनामध्ये ८ जना कनकाई ५ तुलसीवारी क्षेत्रका प्रतिष्ठित ब्याक्तिहरु रहेका छन् ।
राजनीतिक व्याक्तित्व, युवा व्यवसायी लगायातमा कोरोना देखिएपछि हाल तुलसीवारी क्षेत्र सिल गरिएको छ । बाँकी २ जना एक जना यस अघि कोरोना देखिएको कनकाई नगरपालिकाकी एक कर्मचारीकी सहोदर दिदी र एक जना कनकाई १ निवासी नेपाल बहुदेश्यीय सहकारी संस्था सुरुङ्गा शाखाकी कर्मचारी रहेका छन् ।
कनकाईमा हालसम्म ३३ जनामा कोरोना पोजेटिभ देखिएको छ । कनकाईका लक्षण नदेखिएका कोरोना संक्रमितहरु होम आइसोलेसनमा रहेका छन् ।
हाल कनकाईमा १४ जनाले कोरोना जितिसकेका छन भने १९ जना कोरोना संक्रमित अस्पताल तथा होम क्वारेन्टिनमा रहेका छन ।
यता सरकारले कोरोना संक्रमितको नाम नखुलाउन भने पनि कनकाई ५ का युवा व्यवसायी भोला खड्काले आफुलाई कोरोना पोजेटिभ भएको फेसबुकमार्फत सार्वजनिक गरेका छन् ।
समुदायमा देखिएको कोरोनाका कारण कनकाई नगरपालिकाकाको ९ वटै वडालाई सोमवार दिउँसो ३ बजेदेखि अनिश्चित कालसम्मका लागि लकडाउन गरिएको छ ।
नगरपालिकाले अब कोरोनासँग नडराउन आग्रह गरेको छ । कोरोना सँग नडराई स्वास्थ्य सुरक्षा सामाग्री अपनाई सतर्क रहन कनकाई नगरपालिकाका मेयर राजेन्द्र पोखरेलले नगरबासीलाई आग्रह गरेका छन् ।
Comments