Sajhamanch Archive

विराटनगरमा बाबुको निधनपछि कोरोना संक्रमित दुई छोरीको पनि मृत्यु

Published: (Updated: ) in मुख्य समाचार, विविधा, विविधा, स्वास्थ्य by .

विराटनगर । विराटनगरमा बाबुको निधन पछि कोरोना संक्रमित दुई छोरीहरुको पनि निधन भएको छ ।
विराटनगर महानगरपालिका–११ का ७० वर्षीय वृद्धको साउन २३ गते घरमै निधन भएको थियो ।

कालगतिले निधन भएका उनको मृत्युपछि पीसीआर परीक्षण गराउँदा रिपोर्ट नेगेटिभ आयो । तर उनको निधन भएको एक महिना नपुग्दै कोरोनाबाट संक्रमित बनेका दुई छोरीको पनि मृत्यु भएको छ । एक महिनाभित्रमा एउटै परिवारका तीनजनाले ज्यान गुमाए । वृद्धको मृत्यु कालगतिले भए पनि त्यसपछि लगातार कोरोना संक्रमित दुई छोरीले प्राण त्यागे ।

वृद्धको मृत्यु भएको २० दिनपछि भदौ ९ गते राति ४० वर्षीया छोरीको पनि मृत्यु भयो । कान्छी छोरी बितेको १० दिनपछि वृद्धकी ४३ वर्षीया जेठी छोरीको पनि शुक्रबार साँझ मृत्यु भएको छ । कोरोना संक्रमण पुष्टि भएका ४० र ४३ वर्षीया दुवैजनाको मृत्यु उपचारका क्रममा भएको हो ।

बाबुको मृत्यु संस्कारको काममा बसेकी ४० वर्षीया छोरीमा कामकै बीचमा ज्वरो आउने, छाति दुख्नेलगायत समस्या देखिएको थियो । परिवार नै दुःखमा रहेका कारण त्यो समयमा उनले प्रभावकारी उपचार पाउन सकिनन् । पछि उनलाई निमोनिया देखिएको थियो ।

श्वासप्रश्वासमा समस्या भएको भन्दै मोरङको बूढीगंगा गाउँपालिका–२ स्थित टंकीसिनवारीमा रहेको विराट शिक्षण अस्पतालमा अन्तिम अवस्थामा पुर्याइएकी उनको उपचारका क्रममा भदौ ९ गते मृत्यु भएको हो । विराटनगर १५ मिल्स एरिया घर भए पनि उनी विराटनगर–११ स्थित माइतीमै बस्दै आएकी थिइन् । उनको मृत्युु भएको केही बेरपछि पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको थियो ।

विराटका कोभिड फोकल पर्सन डा  पुरु कोइरालाले मृतकमा कोरोनासँगै ज्वरो र निमोनियाको पुरानो समस्या रहेको बताए ।

त्यस्तै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत उनकै ४३ वर्षीया दिदीको पनि शुक्रबार साँझ मृत्यु भयो । पेट र छात्ती दुख्ने तथा श्वासप्रश्वासमा समस्या भएपछि विराटनगरको न्युरो अस्पतालले संक्रमित महिलालाई थप उपचारका लागि प्रतिष्ठान पठाएको हो ।

चार वर्षदेखि उच्च रक्तचापको समस्या रहेसँगै स्वाब संकलन गरेर प्रदेश १ जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणपछि मृतकमा भदौ १७ गते कोरोना पुष्टि भएको थियो । कोरोना देखिएपछि न्युरोबाट रेफर गरिएकी महिलालाई भदौ १८ गते बिहीबार बिहानदेखि प्रतिष्ठानमा भर्ना गरेर उपचार थालिएको थियो ।

परिवारका अनुसार मृतक विवाह नगरिकन माइतीमै बस्दै आएकी थिइन् । भदौ १६ गते स्वास्थ्यमा समस्या देखिएपछि परिवारका सदस्यले उपचारका लागि न्युरो अस्पताल भर्ना गरेका थिए ।

कोरोनाले एकै घरका दिदीबहिनीको मृत्यु भए पनि बहिनीमा भने कोरोना कहाँबाट सल्कियो भन्ने खुलेको छैन । दिदीमा भने उनीबाट संक्रमण भएको हुन सक्ने अनुमान गरिएको छ ।

परिवारमा रहेकामध्ये मृतकका ६३ वर्षीया आमा, दुईजना भाइ र ४० वर्षीया महिलाकी छोरीको भने रिपोर्ट नेगेटिभ आएको छ । ‘बुवाको निधनले परिवार पीडामा थियो । त्यो दुःख अहिले पनि परिवारमा छँदै छ,’ मृतकका जेठो भाइले भने , ‘त्यहाँमाथि १० दिनको अन्तरालमा दुईजना दिदी पनि बित्नु भयो । परिवारमा यहाँभन्दा ठूलो बज्रपात पर्ने ठाउँनै छैन ।’ पीडामाथि पीडा थपिँदा तनावले परिवारका बाँकी सदस्यले केही सोच्न पनि नसकेको उनको भनाइ छ ।

श्रीमानको मृत्यु भएको २० दिनपछि कान्छी छोरी र अहिले जेठी छोरी पनि गुमाएको पीडामा रहेकी उनकी आमा ६३ वर्षीया वृद्धा अझै पनि सम्हालिन सकेकी छैनन् । ‘बुवा र कान्छी दिदीको मृत्यु भएपछि आमाको आँखाबाट आँसु थामिएकै छैनन् । अहिले जेठी दिदी पनि बित्नु भयो,’ उनले भने । उनी पनि एक महिना नपुग्दै अभिभावकको भूमिकामा रहेका परिवारका तीन सदस्य गुमाउनु परेको पीडाले सम्हालिन सकिरहेका छैनन् ।

उनले दिदीहरुको निधन स्वास्थ्यसम्बन्धी अरु नै समस्याका कारणले भए पनि कोरोना निहुँ मात्रै बनेको सुनाए । शुक्रबार साँझ मृत्यु भएकी महिलाको शव परिवारका सदस्य, आफन्त र नातेदारको उपस्थितिमा धार्मिक परम्पराअनुसार घाटमा चिता बनाएर शनिबार जलाइएको छ । यसअघि मृत्यु भएकी उनकी बहिनीको पनि त्यसरी नै चिता बनाएर भदौ १० गते विराटनगरको सिंघीया घाटमा अन्त्येष्टि गरिएको थियो ।

संक्रमितको मृत्यु हुँदा नेपाली सेनाको टोलीले लगेर खाल्डो खन्दै पुरेर व्यवस्थापन गर्ने गरेको थियो । कोभिड १९ ले मृत्यु भएका व्यक्तिको शव व्यवस्थापनसम्बन्धी संक्षिप्त कार्यविधि २०७६ लाई आधार मानेर मृतकका परिवारले दाहसंस्कार गर्न पाउनु पर्ने माग राख्दै निवेदन दिएपछि संक्रमितको शव परिवारलाई जलाउन दिइएको मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले बताए ।

उनका अनुसार अरुमा संक्रमण फैलन नदिन सुरक्षाको सबै मापदण्ड अपनाउँदै संक्रमितको शव दाहसंस्कार गर्न परिवारलाई अनुमित दिन सकिने निर्णय यसअघि नै जिल्लास्तरीय कोरोना क्राइसिस मेनेजमेन्ट सेन्टरबाट भइसकेको छ । उच्च अदालत विराटनगरले पनि कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएका व्यक्तिका परिवारका सदस्य, आफन्त वा नातेदारलाई अन्तिम संस्कारमा उपस्थित गराउन भदौ ८ गते अन्तरिम आदेश जारी गरेको थियो ।

निरौलाका अनुसार मृत्यु भएको अस्पतालबाट उठाएर घाटसम्म पुर्याउँदै नेपाली सेनाको टोलीले शवलाई चितामाथि राखिदिएपछि परिवारका सदस्यले अन्त्येष्टि गरेका हुन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *