Sajhamanch Archive

आदिवासी जनजातिले गोजिमा रहेको अधिकार बिर्सेर भुँइमा खोज्न नहुनेः मन्त्री आङ्वो

Published: (Updated: ) in मुख्य समाचार, राजनीति by .

भद्रपुर । प्रदेश नम्बर १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बोले नेपालका कम्युनिष्ट शक्ति सच्चा लोकतन्त्रवादी रहेको दावी गरेका छन् ।

२४ औं विश्व आदिवासी दिवसको सन्दर्भमा भद्रपुर २ स्थित पृथ्वीनगरमा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री आङ्बोले विपक्षी दलले कम्युनिष्ट अधिनायकवाद हावी भएको प्रचार गरेकोप्रति लक्षित गर्दै आत्मनिर्णयको अधिकार दिन तयार हुने नेपालका कम्युनिष्ट शक्ति सच्चा लोकतन्त्रवादी रहेको दावी गरेका हुन् ।

उनले कम्युनिष्टका गुरु लेनिनको उदाहरण प्रस्तुत गर्दै रूसमा नागरिक स्वयत्तता दिएर टुक्राटुक्रा हुने अवस्थामा पनि लेनिनले सर्वसत्तावाद नलादेको दावी गर्दै यो लोकतन्त्रको सवैभन्दा उदार पक्ष होइन ? प्रश्न गरे । लेनिनलाई आदर्श मान्ने नेपाल कम्युनिष्ट कसरी सर्वसत्तावादी बन्छन् त ? यो सवै कमजोर मानसिकताको दुष्प्रचार रूपी हल्ला मात्र हो उनले प्रष्ट पारे ।

वर्तमान संविधानको संशोधन होइन संरक्षण आवश्यक भएको बताउँदै मन्त्री आङ्बोले आदिवासी जनजातिले गोजिमा रहेको अधिकार बिर्सेर भुँइमा अधिकार खोज्ने काम गर्न नहुने तर्क गरे । उनले अहिलेसम्म प्राप्त भएको अधिकारको संरक्षण नगरी संविधान संशोधनका मुद्धा मात्र उठाउन खोजिए संघीयता, धर्मनिरपेक्षता लगायत अधिकार गुम्न सक्ने संकेत गरे ।

मन्त्री आङ्बोल स्थिर सरकारले सस्तो लोकप्रियता नचाहेको स्पष्ट गर्दै आर्थिक क्रान्तिको अर्जुन दृष्टिमा सरकार रहेको उल्लेख गरे । उनले ५ वर्ष भित्र ५० लाख नेपाली युवा युवतीलाई नेपालमै रोजगारी दिने गरी काम अगाडि बढिरहेको योजना समेत सुनाए । आङ्बोले समृद्धिका सपना क्षणभरमै पुरा नहुने भन्दै दिगो विकासको अवधारणा अनुसार समृद्ध नेपाल बनाएरै छाड्ने स्पष्ट गरेका छन् ।

आदिवासी जनजाति महासंघ भद्रपुर नगर समन्वय समितिको आयोजनामा सम्पन्न कार्यक्रममा प्रदेश संसद ओमप्रकाश सरावगी, भद्रपुर नगर प्रमुख जीवनकुमार श्रेष्ठ, उपप्रमुख चन्द्रमाया श्रेष्ठ, नेपाली कांग्रेसका क्षेत्रीय सभापति गणेश पोखरेल, राजवंशी विकास समितिका अध्यक्ष पुकारचन्द्र राजवंशी, किँरात यायोक्खाका काजिमान लिम्बू, नेकपाका नेता असारु राजवंशी लगायतले शुभकामना मन्तव्य राख्दै आदिवासी जनजाति बीच एकताको खाचो औंल्याएका थिए ।

महासंघका नगर अध्यष सन्तोष राजवशीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगर क्षेत्रबाट आदिवासी जनजाति समुदायका उत्कृष्ट ४ जना छात्र छात्रालाई सम्मान समेत गरिएको थियो भने वडा प्रहरी प्रमुख प्रकाश जगेवुलाई नगर सुरक्षामा योगदान गरेको भन्दै कदरपत्र प्रदान गरिएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *