Sajhamanch Archive

लायन्सको स्थापना दिवसमा रक्तदान कार्यक्रम

Published: in राष्ट्रिय समाचार by .

बिर्तामोड । लायन्स क्लबको ३२औं स्थापना दिवसको अवसरमा बिर्तामोडका विभिन्न शाखाले आज आयोजना गरेको रक्तदान कार्यक्रमबाट ३० पिन्ट रगत संकलन गरिएको छ ।

लायन्स क्लब अफ बिर्तामोड, लायन्स क्लब अफ अनारमनी, लायन्स क्लब अफ बिर्तामोड सिटी, लियो क्लब अफ अनारमनी र लियो क्लब अफ बिर्तामोड सिनियरको संयुक्त आयोजना रक्तदान कार्यक्रम गरिएको हो ।

नेपाल रेडक्रस सोसाइटी बिर्तामोड रक्तसञ्चार केन्द्रको प्राविधिक सहयोगमा बिहीबार बिर्तामोडको दुर्गा मन्दिर परिसरमा औपचारिक कार्यक्रमको आयोजना गरी रक्तदान कार्यक्रम गरिएको हो ।

दिन प्रतिदिन बढ्दै गएको रगत अभावलाई पूर्ति गर्न र सेवाभावले रक्तदान जीवन दानको मन्त्रलाई आत्मसात गर्दै संस्थाको स्थापना दिवसको अवसरमा रक्तदान गरिएको कार्यक्रम संयोजक एवम् लायन्स क्लब अफ बिर्तामोडका अध्यक्ष गौरीशंकर गुप्ताले बताएका छन् ।

उनका अनुसार आजदेखि हरेक १५–१५ दिनको अन्तरमा बिर्तामोडमा सञ्चालित कलेजहरुसँग सहकार्य गरी रक्तदान कार्यक्रम गरिने निर्णय भएको छ ।

लायन्स क्लब अफ बिर्तामोडका अध्यक्ष गौरीशंकर गुप्ताको अध्यक्षता र प्रदेश नं. १ का सांसद एकराज कार्कीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकाल, बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराई, लायन्स क्लब अफ बिर्तामोड सिटीका अध्यक्ष निरज ओलीलगायतले मन्तव्य राखेका थिए ।

बिर्तामोड उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष एवम् लायन्स क्लब अफ बिर्तामोडका प्रवक्ता बलराम कार्कीले शाब्दिक स्वागत गरेको कार्यक्रमको सञ्चालन लायन्स क्लब अफ बिर्तामोडका सचिव पुष्कर निरौलाले गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *