Sajhamanch Archive

प्रदेश १ मा एक लाख बढीको पीसीआर परीक्षण

Published: (Updated: ) in प्रदेश तह, समाज, स्वास्थ्य by .

मोरङ । प्रदेश १ मा एक लाख बढीको पीसीआर परीक्षण भएको छ । सोमबारसम्म कोरोना सङ्क्रमण छ कि छैन भनेर जाँच गर्नका लागि एक लाख तीन सय ४८ जनाको पीसीआर परीक्षण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सोमबार मात्रै एक हजार आठ सय ६० जनाको पीसीआर परीक्षण भएको छ । अहिलेसम्म परीक्षण गरिएकामध्ये ९६ हजार एक सय ७१ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने चार हजार एक सय ७७ जनाको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ४० हजार ६ सय ४३, प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगरबाट ३१ हजार तीन सय ४३, कोशी अस्पताल विराटनगरबाट २५ हजार चार सय ३६, मेची अस्पताल झापाबाट दुई हजार आठ सय ९१ र अन्य प्रयोगशालाबाट ३५ जनाको पीसीआर परीक्षण भएको छ ।

प्रदेश १ मा मोरङमा सबैभन्दा बढी ३१ हजार दुई सय ६७ जनाको पीसीआर परीक्षण गर्दा दुई हजार ४५ जनामा सङ्क्रमण देखिएको छ । सुनसरीमा २३ हजार ६ सय ७९ र झापामा २३ हजार पाँच सय ८५ जनाको पीसीआर परीक्षण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा अहिले चारवटा प्रयोगशालाबाट पीसीआर परीक्षण हुँदै आएको छ । वीपीमा गएको चैत १८, कोशीमा चैत २९, प्रदेश जनस्वास्थ्य प्रयोगशालाले वैशाख १९ र मेची अस्पतालले साउन ३० गतेदेखि पीसीआर परीक्षण सुरु गरेको मन्त्रालयले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *