Sajhamanch Archive

आफ्नै विद्यार्थीमाथि पटक पटक बलात्कार, बच्चा जन्मेपछि घटना सार्वजनिक

Published: in मिडियाबाट साभार, समाज by .

बैतडी । बैतडीका शिक्षकले आफ्नै छात्रा बलात्कार गरेको आरोप लागेको छ। बलात्कृत किशोरीको बिहे भएको ६ महिनामै छोरी जन्मिएपछि यो घटना बाहिरिएको हो। ती शिक्षक सिगास गाउँपालिकाका हुन्।

सिगास–८ जनचेतना आधारभूत विद्यालयमा अध्ययनरत कक्षा ८ की १७ वर्षीया छात्रालाई सोही विद्यालयमा पढाउने शिक्षक खडक बोहरा, केशव बोहरा र स्थानीय रामबहादुर बोहरामाथि बलात्कार गरेको आरोप लागेको छ।

बलात्कार भएको केही महिनापछि ती किशोरीले अन्तै बिहे गरेकी थिइन्। बोहरा अहिले विद्यालय छोडेर गाउँपालिकामा कार्यरत रहेका बुझिएको छ। तीनै जनाले ती किशोरीमाथि पटक पटक बलात्कार गर्दा भागेर बिहे गर्न बाध्य बनाएको किशोरीका आफन्तले आरोप लगाएका छन्।

६ महिनामै छोरी जन्मिएपछि किशोरीलाई घरका मानिसले सोधपुछ गर्दा आफूलाई ती व्यक्तिहरुले बलात्कार गरेको किशोरीले बताएको ती किशोरीका एक आफन्तले जानकारी दिए। उनले भने, ‘घटना पहिलेको भए पनि गाउँमै मिलाउने भन्दै धेरै प्रयास गरे। अहिले कुरा बाहिर आएको छ, अहिले पनि विभिन्न प्रकारका हतकण्डाहरु भइरहेका छन्।’ यो विषयमा जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले पीडित किशोरीलाई जिल्ला सदरमुकाममा ल्याउने तयारी भएको र किशोरीसँगको बयानपछि मात्रै घटनाबारे थाहा हुने बताए।

उनले भने, ‘यो कुरा बाहिर आइसकेपछि हामीले यो घटनालाई सूक्ष्म रुपमा अध्ययन गरिरहेका छौं। किशोरीको सुरक्षाका लागि पनि उसलाई हामी जिल्लामा ल्याउने तयारी गरेका छौं। संलग्न भनिएका मान्छेको पनि खोजी गरिरहेका छौं।’ किशोरीलाई ललाई फकाई गरेर करणी भएको भए पनि कानुन अनुसार कारबाही हुने प्रहरी नायव उपरीक्षक अधिकारीले बताए।

स्रोत : थाहाखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *