Sajhamanch Archive

अफगानी उपराष्ट्रपतिलाई निशाना बनाएर बम विस्फोट, १० जनाको मृत्यु

Published: (Updated: ) in मिडियाबाट साभार, विश्व समाचार by .

अफगानिस्तानका उपराष्ट्रपति अमुरुल्लाह सलेहलाई निशाना बनाएर गरिएको बम विस्फोटमा १० जनाको मृत्यु भएको छ ।

अफगानिस्तानका पूर्व गुप्तचर विभाग प्रमुखसमेत रहेका सलेहको हात र मुख जलेको छ । केही भिडियो फुटेजहरुमा धुवाँको ठूलो मुस्लो उडिरहेको देखिएको छ । तालिबान र अफगानी अधिकारीहरुले पहिलो पटक औपचारिक वार्ताको तयारीमा भएको बेला उक्त विस्फोट भएको छ ।

उपराष्ट्रपति सलेहलाई तालिबानको एक कट्टर विरोधीको रुपमा मानिएको छ । यसअघि पनि उनलाई कयौं पटक मार्ने प्रयास भएकोमा उनी बाँच्‍न सफल भएका थिए । गत वर्ष पनि सलेहलाई निशाना बनाएर गरिएको विस्फोटमा २० जना मारिएका थिए । तालिबानका प्रवक्ता जाबिहुल्लाह मुजाहिदले ट्विटमार्फत आफ्नो लडाकूहरु उक्त विस्फोटमा संलग्‍न नभएको बताएका छन् ।

अफगानिस्तानको गृहमन्त्रालयका प्रवक्ता तारिक अराइनले उक्त विस्फोट उपराष्ट्रपतिलाई निशाना बनाएर गरिएको बताएका छन् । उनले उक्त विस्फोटमा १० सर्वसाधारणको मृत्यु भएको पनि पुष्टि गरिएका छन् ।

त्यसैगरी उपराष्ट्रपति सलेहसहित १५ जना घाइते भएका छन् । घटना लगत्तै अस्पताल पुगेर राष्ट्रपति असरफ घानीले पनि घाइतेहरुलाई भेट गरेका छन् । उनले यस घटनाको निन्दा गरेका छन् ।

स्रोत : बीबीसी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *