Sajhamanch Archive

असोज १ देखि आन्तरिक हवाई सेवा खुला गर्न प्रस्ताव, पर्यटन क्षेत्रले गुमायो एक खर्ब

Published: (Updated: ) in अर्थतन्त्र, राष्ट्रिय समाचार by .

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन क्षेत्रसँग सम्बन्धित चार प्रस्ताव सीसीएमसीमा पठाएको छ । मन्त्रालयले आन्तरिक हवाई सेवा खोल्नेदेखि विदेशी पर्यटकलाई नरोक्नेसम्मका प्रस्ताव पठाएको हो ।

पर्यटनमन्त्री योगेश भट्टराईले आगामी असोज १ देखि आन्तरिक हवाई सेवा खुला गर्ने प्रस्ताव गरिएको बताए । “मन्त्रालयले असोज १ देखि नै आन्तरिक हवाई सेवा खुला गर्न प्रस्ताव गरेको छ । १ गते नै भएन भने पनि असोज १५ गतेदेखि खुला हुन्छ,” उनले भने । कोरोना संक्रमण कम भएका हिमाली एवं पहाडी क्षेत्रबाट आन्तरिक हवाई सेवा सञ्‍चालन गर्न प्रस्ताव गरिएको उनले बताए ।

यस्तै, विदेशी पर्यटकलाई नेपाल आउन खुला गर्न पनि प्रस्ताव गरिएको छ । तर, विदेशी पर्यटक नेपाल आउँदा कोरोना परिक्षणको पीसीआर रिपोर्ट नेगेटिभ हुनुपर्नेछ । मन्त्रालयले हिमाल आरोहण र पदयात्रालाई खुला गर्न अन्तर्राष्ट्रियतर्फको नियमित हवाई उडान संख्या थप्‍न पनि सीसीएमसीमा प्रस्ताव लगेको छ ।

पर्यटन क्षेत्रले एक खर्ब गुमाइ सक्यो

कोडिभ १९ का कारण नेपालको पर्यटन क्षेत्रले एक खर्ब रुपैयाँ गुमाएको अनुमान गरिएको छ । नेपालको पर्यटन क्षेत्रमा एयरलाइन्ससमेत १५ खर्ब बराबरको लगानी रहेको अनुमान छ । पर्यटन क्षेत्रले मात्रै मासिक १० अर्ब गुमाएको अनुमान रहेको मन्त्री भट्टराईले बताए । “पर्यटन क्षेत्रले मासिक १० अर्ब गुमाएको छ । अहिलेसम्म ६० अर्ब रुपैयाँ यो क्षेत्रले गुमाइसकेको छ भने सबै जोड्दा समग्र पर्यटन क्षेत्रले एक खर्ब गुमाएको अनुमान छ,” उनले भने ।

मन्त्री भटट्टराईले विदेशी पर्यटकलाई खुला गरे पनि तत्काल आउने सम्भावना कम रहेकाले आन्तरिक पर्यटन प्रवर्द्धनलाई जोड दिइएको बताए । नेपाल आर्थिक पत्रकार समाजले आज आयोजना गरेको कार्यक्रममा उनले आन्तरिक पर्यटन प्रवर्द्धन गर्न दुई दिन साप्ताहिक बिदा दिने योजना बनाइरहेको बताए ।

“आन्तरिक पर्यटन प्रवर्द्धन गर्न साप्ताहिक दुई दिन बिदाको अवधारणा अगाडि सारिएको छ । दुई दिन साप्ताहिक बिदा दिदा करिब ५० लाख आन्तरिक पर्यटक घुम्‍न निस्कने अपेक्षा गरेका छौं ।”पर्यटन क्षेत्रमा १० लाख जनाले प्रत्यक्ष रोजगारी पाएका थिए । तर, अहिले पर्यटन क्षेत्र ठप्प हुँदा उनीहरु पनि प्रभावित भएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *