Sajhamanch Archive

इतिहासमा आज : दिल्लीमा शृङ्खलाबद्ध विस्फोट, २६ जनाको मृत्यु

Published: in विश्व समाचार by .

आज १३ सेप्टेम्बर । सन् २००८ मा भारतको राजधानी दिल्लीमा शृङ्खलाबद्ध रुपमा आतङ्कवादी हमला हुँदा २६ जनाको ज्यान गयो भने ७० भन्दा बढी व्यक्ति घाइते भए । साँझ ६ बजेर ७ मिनेट जाँदा गफ्फार मार्केटमा पहिलो बम पड्किएको थियो । त्यसको केही समयलगत्तै कनाट प्यालेसका दुई फरक स्थानमा राखिएको बम पड्कियो । त्यपपछि ग्रेटर कैलाशका दुई ठाउँमा पनि बम बिस्फोट भयो । यी सबै क्षेत्र दिल्लीका व्यस्त ठाँउ हुन्, जहाँ साँझको समय मानिसको व्यापक चहलपहल हुन्छ ।

विस्फोटको केही समयपछि दिल्लीमा सुरक्षा व्यवस्था बढाइयो भने छिमेकी राज्य उत्तर प्रदेश, हरियाणा र पञ्जावमा पनि अलर्ट घोषणा गरियो । ती राज्यमा पनि हमला हुनसक्ने खतरालाई ध्यानमा राखेर यस्तो सतर्कता अपनाइएको थियो ।

यस हमलाको जिम्मा इस्लामिक संगठन इन्डियन मुजाहिद्दिनले लियो । घटनाको अनुसन्धानको जिम्मा दिल्ली पुलिसको स्पेशल सेललाई दिइएको थियो, अनुसन्धानका क्रममा ५ दिनपछि प्रहरीले शृङ्खलाबद्ध हमलामा जोडिएका केही मानिस जामिया नगरस्थित बाटला हाउसको पसल नम्बर एल–१८ मा लुकेको पत्ता लगायो । त्यसपछि यस पसलमा छापा मार्दा हमलावर र पुलिसबीच भीडन्त भयो ।

यस भिडन्तमा दुुईजना हमलावर तथा स्पेशल सेलका इन्काउन्टर स्पेशलिस्ट मोहन चन्द शर्माको मृत्यु भयो । भिडन्तका दौरान एकजना हमलावर भाग्न सफल भए । उनलाई पक्रन दिल्ली पुलिसलाई थप १० वर्ष लाग्यो । इन्डियन मुजाहिद्दिनका आरिज खान उर्फ जुनैद नामक यी हमलाकारी २०१८ मा पक्राउ परे ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *