Sajhamanch Archive

उन्नत जातका बाख्रा पालनमा युवा आकर्षण

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, by .

भद्रपुर । शरीरमा बल र मस्तिकमा बुद्धि पसेपछि अधिकांश नेपाली युवा सुनौलो भविष्यको खोजी गर्न भन्दै परदेशको माटोमा दौडन्छन् ।

स्वदेशमा अवसर र सुनौलो भविष्य नदेखेर विदेश मोहमा युवाहरु दौडेका हुन् । तर, आफ्नै जन्मभूमिमा बसेर भविष्य सुनौलो बनाउन सकिने सोच पालेका थोरै युवाहरूको रगत पसिना समृद्ध नेपालका लागि इटा सावित भएका केही नमूना पनि छन् । यस्ता परिश्रमी युवाका सफलताका कथा विरलै सन्न र देख्न पाइन्छन् ।

यस्तै युवाहरू मध्येमा रहेका झापा अर्जुनधारा–९ शनिश्चरेका युवा कमल कडरियाको ४ वर्षयताको उन्नत बाख्रा पालन व्यवसायलाई नमुनाका रूपमा हेर्न सकिन्छ । १० वटा ५० प्रतिशतका बोयर जातका बाख्रा र एउटा १०० प्रतिशतको बोयर बोकाबाट उन्नत बाख्रा पालन सुरू गरेका कडरियाले व्यवसाय बढाउँदै ५० लाख बढीको उन्नत बाख्रा फर्म निर्माण गरिसकेका छन् ।

उनका उमेरका अधिकांश युवा विदेशमा रोजगारीमा छन् । उनलाई पनि बाख्रा पालन सुरू गर्दा आफन्त तथा साथीभाइले उभो नलाग्ने व्यवसाय भनेर निरुत्साहित गर्नेको लामै ताँती थियो तर स्वदेशमै बसेर केही न केही व्यवसाय मार्फत समृद्धिको बाटो बनाउने सपना पालेका कडरियाले कृषि भित्र पर्ने पशुपालनको माध्यम समातेर ४ वर्षमा उन्नतिको पथ निर्माण गरिसकेका छन् ।

आर.के एग्रीकल्चर नाम दिएर स्वरोजगार गरिरहेका कमल परम्परागत शैलीभन्दा केही भिन्न विधि अपनाएर उन्नत बाख्रा पालनमा जुटेका छन् । उनले घाँस र दाना दुवैमा आधारित बाख्रा पालन गरिरहेका छन् । ६० वटा बाख्रा रहेको उनको फरममा ४ जनाको रोजगारी सुनिश्चित भएको छ । अहिले उनका फरममा ६५ प्रतिशत ७५ प्रतिशत, ८७ प्रतिशत र शत प्रतिशत गरी ४ किसिमका उन्नत बाख्रा छन् ।

राज्यबाट कुनै साथ र सहयोग नपाएको कडरियाको फरमबाट उत्पादित पाठापाठीको प्रतिशतका आधारमा मूल्य समेत तोकिएको छ । जस अनुसार ५० प्रतिशतका बोकाको प्रति केजी १५ सय, पाठी १२ सय, ७५ प्रतिशतका लागि बोकाको २५ सय, पाठीको २ हजार, ८७ प्रतिशतका लागि बोकाको ३५ सय, पाठीको २५ सय मूल्य तोकेर बिक्री समेत गर्ने गरेका छन् ।

कडरियाको बाख्रापालनबाट ४ जना पूर्ण रूपमा रोजगार भएका छन् भने कृषि र पशुपालनमा भविष्य नदेख्नेका लागि मेहनत गरे उन्नति गर्न सकिने उदाहरण समेत निर्माण भएको छ । उनी आफ्नै देशमा बसेर पनि राम्रो उन्नति गर्न सकिने बताउँदै विदेश नाम र दाम कमाउन विदेश धाउनु नपर्ने धारणा राख्छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *