Sajhamanch Archive

खुट्टीडाँगीमा थपियो एनएमसीको कार्यालय

Published: in सहकारी by .

मेचीनगर । एनएमसीले आजदेखि मेचीनगर ९ खुट्टीडाँगीमा आफ्नो नयाँ सम्पर्क कार्यालय सञ्चालनमा ल्याएको छ ।

यस आर्थिक वर्षभित्र जिल्लाका ४० स्थानबाट आफ्ना सदस्यहरुलाई सुलभ सेवा प्रदान गर्ने लक्ष्य लिएको एनएमसीले सेवा केन्द्र तथा सम्पर्क कार्यालय विस्तारलाई तिब्रता दिएको हो ।

मेचीनगर नगरपालिकाका प्रमुख बिमल आचार्यले रिबन काटेर सम्पर्क कार्यालयको उद्घाटन गरिदिएका हुन् । कार्यालय उद्घाटन पछि मन्तब्य राख्दै नगरप्रमुख आचार्यले समाजको परिवर्तनका लागि सहकारी अभियान सहयोगी बन्दै आएको धारणा राखे ।

उनले भने, ‘नगरपालिका र जनप्रतिनिधिले गर्ने धेरैवटा काम सहकारी अभियानले गरिदिएको छ । अझ मेचीनगरको हकमा कुरा गर्दा नेपालकै अग्रणी सहकारी एनएमसीको मुख्य कार्यालय रहेकाले आफूहरुलाई सामाजिक अभियान सञ्चालन गर्न सहयोग पुगेको छ ।’

२५ वर्ष अघि एनएमसीको स्थापना हुँदा दैनिक ५० रुपैयाँ कमाउन नसक्नेहरुलाई बचत गर्नुपर्छ भनी सिकाउने संस्था भएकाले यसलाई हेरेर धेरैले सहकारी सिकेका छन् र बुझेका छन् भन्दै नगरप्रमुख आचार्यले नगरका वडा वडा र टोलटोलमा यसको सेवा पुगोस् भन्ने चाहना ब्यक्त गरे ।

सम्पर्क कार्यालय उद्घाटनका अवसरमा नगर उपप्रमुख मीना पोखरेल उप्रेतीले सहकारी संस्था र स्थानीय सरकारबीच समन्वयको आवश्यकता भएकाले आफूहरु नगर क्षेत्रका सबै सहकारीहरुसँग मिलेर काम गर्न इच्छुक रहेको बताइन् ।

पवित्रा न्यौपानेको अध्यक्षतामा आयोजित कार्यक्रमको सञ्चालन धुलाबारी कार्यालय प्रमुख हिरन कट्टेलले गरेकी थिइन् ।

कार्यक्रममा संस्थाका उपाध्यक्ष लक्ष्मीप्रसाद उप्रेतीले नयाँ कार्यालयका रुपमा आजदेखि खुट्टीडाँगीमा सेवा केन्द्र थपिएको भए पनि दुई करोड रुपैयाँ निक्षेप, सदस्यहरुमाझ ५ करोड रुपैयाँ लगानीमा रहेको तथा सो क्षेत्रका ८५० हाराहारी सदस्यहरु यसअघि नै सदस्य बनिसकेकाले सबैको सहजताका लागि नयाँ सेवा केन्द्रले फाइदा पुग्ने बताए ।

मेचीनगर वडा नं. ९ का अध्यक्ष गोपाल खड्काले धुलाबारी बजारभन्दा झण्डै तीन किलोमिटरमाथि आफ्नै गाउँमा वित्तीय सेवा केन्द्र सञ्चालन हुनु गर्वको कुरा भएको बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *