Sajhamanch Archive

बिएण्डसी अस्पतालबाट कोरोना जितेर सबै १२ जना स्वास्थ्यकर्मी भए डिस्चार्ज

Published: in भिडियो, मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, समाज, स्वास्थ्य by .

बिर्तामोड । झापाको बिर्तामोडस्थित बि एण्ड सी अस्पतालमा कार्यरत एकजना डाक्टर र ११ जना स्वास्थ्यकर्मी गरी सबै १२ जनाले कोरोना जितेका छन् । भदौ २१ गते कोरोना संक्रमण पुष्टि भएपछि उनीहरु सबैजनालाई अस्पताल प्रशासनले आफ्नै आइसोलेशनमा राखेर कोरोनामुक्त गरी आज डिस्चार्ज गरेको हो ।

अस्पताल प्रशासनले आज बिहान पत्रकार सम्मेलनमार्फत् कोरोनामुक्त भएका चिकित्सक र स्वास्थ्यकर्मीलाई फूलगुच्छा तथा खादा पहिर्याएर कोरोनामुक्त भएकोमा बधाई ज्ञापन गरेको छ ।‘अस्पतालका १२ जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण भएपछि बि एण्ड सी बारे थुप्रै अफवाह फैलिएको थियो । कतिपयले बि एण्ड सी लाई कोरोनाको इपिसेन्टर बनाएको भन्ने आरोप पनि लगाए’ कार्यकारी निर्देशक दुर्गाप्रसाद प्रसाईले भने, ‘कोरोनालाई नेगेटिभ नबनाउँ, नेगेटिभभित्र पोजेटिभ खोजौं ।’

‘कोरोनाका संक्रमितलाई उपचार गर्न कोभिड अस्पतालमा नै पुर्याउनु पर्छ भन्ने भ्रमको अन्त्य गर्न र बि एण्ड सी अस्पतालले सुरक्षित रुपमा उपचार सेवा सञ्चालन गर्न सक्तछ भन्ने सन्देश प्रवाह गर्न आफ्ना स्टाफहरुको यहीँ उपचार गरिएको’ कार्यकारी निर्देशक प्रसाईको जिकिर छ ।

‘काठमाडौं उपत्यका बाहिर पनि अस्पतालहरु छन्, तिनमा पनि उपचार हुन सक्छ भन्ने सन्देश प्रवाह गर्न आफ्नै अस्पतालमा काम गर्ने परिवारका सदस्यहरुलाई अस्पतालमा नै आइसोलेशनमा राखेर हेरचाह गरियो । सम्बन्धित डाक्टरहरुले मसिनो ढंगले संक्रमितहरुको लक्षण पहिचान गर्नुभयो । अब हाम्रो अस्पतालबाटै अरुको उपचार सम्भव छ, अझ प्लाज्मा थेरापी गर्न हामीभित्रैबाट एन्टिबडी पनि उत्पादन हुने निश्चित भएको छ’ कार्यकारी निर्देशक प्रसाईले थपेका छन्, ‘नेगेटिभ प्रचार होइन अब पोटेभिज म्यासेज लिएर जानुस् । बि एण्ड सी अस्पताल कोरोना संक्रमितको उपचार गर्न पनि सक्षम छ ।’

सूचना अधिकारी प्रमिश गिरीले सहजीकरण गरेको कार्यक्रममा कोरोना संक्रमणबाट मुक्त भएका बिएण्डसीका डाक्टर राजेश रायाले १५ दिनको अस्पताल बसाइमा कोही कसैलाई सामान्य ज्वरोभन्दा बढी केही नभएको जानकारी गराए । ‘सबैजना अस्पतालले अलग्गै बनाएको आइसोलेशनमा बस्यौं, कसैकसैले ज्वरोको एक दुई ट्याब्लेट खायौं । तर अरु कुनै समस्या नभएकाले उपचारको अन्य विधि अपनाउनै परेन’ डा. रायाले बताए । (हेर्नुस् संलग्न भिडियो)

कोभिड संक्रमितको उपचारमा संलग्न फिजिसियन डाक्टर लक्ष्मण ठाकुरले भने ‘उहाँहरु कसैमा कुनै लक्षण नै देखिएन । फेरि पनि सरकारले तोकेको स्वास्थ्य प्रोटोकल पूरा गरेर उहाँहरुलाई अलग्गै आइसोलेशनमा राखियो र आज उहाँहरु कोरोनामुक्त भएपछि सबैलाई डिस्चार्ज गरिएको हो ।’

काेराेना संक्रमण मुक्त भएपछि बि एण्ड सी अस्पतालका चिकित्सक डाक्टर राजेश राया अनुभव सुनाउनु हुँदै । अस्पताल प्रशासनले संक्रमणमुक्त स्टाफलाई डिस्चार्ज गर्दै ।

Posted by SajhaManch.com on Sunday, September 20, 2020

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *