Sajhamanch Archive

आन्तरिक हवाइ सेवा सुरु

Published: in राष्ट्रिय समाचार, समाज by .

काठमाडौ । आजबाट आन्तरिक हवाइ सेवा सुरु भएको छ । नेपालमा सेवा दिइरहेका विभिन्न नौवटा कम्पनीमध्ये आठवटाले आजबाट सेवा सुरु गरेका हुन् । कोरोना संक्रमणको जोखिम बढेको भन्दै गत चैत्र ११ गतेदेखि बन्द भएको नियमित हवाइ सेवा १८० दिन पछि सुरु भएको छ ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा स्वास्थ्य सावधानी र चेकजाँचको व्यवस्था मिलाइएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रमुख देवेन्द्र केसीले विश्व स्वास्थ्य संगठन, अन्तर्रािष्ट्रय नागरिक उड्डयन संगठन (आइकाओ) ले बनाएको कोरोनासम्बन्धी बनाएको प्रोटोकल पालना गर्ने गरी आजबाट सेवा सञ्चालन सुरु भएको बताए ।

वायुसेवा कम्पनीहरुले नियमित सेवा सञ्चालन भएको समयमा पाएको उडान अनुमतिको आधारमा २५ प्रतिशतमात्रै उडान तालिका बनाएर सेवा दिनुपर्ने व्यवस्था गरिएको पनि प्रमुख केसीले जानकारी दिए । बिमान सेवा प्रयोग गर्ने यात्रुले पीसीआर नेगेटिभ रिपोर्ट देखाउनु नपर्ने भए पनि आफू स्वस्थ्य भएको स्वयम् घोषणापत्र भर्नुपर्ने छ । नयाँ व्यवस्थाअनुसार उडान सयमभन्दा कम्तीमा दुई घन्टाअघि नै विमानस्थल पुग्नु पर्ने छ भने हाते झोल र अत्यावश्यक सामान मात्र लैजान पाइने छ ।

विमानस्थल सेवा सञ्चालन भएको पहिलो दिन यात्रुको चाप उल्लेख्य देखिएको छ । आज देशका विभिन्न भागमा यात्रु लैजान ५० वटा उडान अनुमति दिइएको पनि विमानस्थल प्रमुख केसीले बताए ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले बुद्ध एयरलाई १७, यति एयरलाई ११, नेपाल वायुसेवा निगमलाई आठ, श्री एयरलायन्सलाई छ, तारा एयरलाई एक, समिट एयरलाई चार, सीता एयरलाई दुई, सिम्रिक एयरलाई एक गरी सोमबार ५० वटा उडानलाई अनुमति दिएको छ । सौर्य एयरलायन्सको बिमान मर्मतमा रहेकाले उडान अनुमति पाएको छैन । तर तारा एयरले नेपालगञ्ज बेस भएर विभिन्न चार उडान भर्नेछ ।

आज उडान अनुमति पाएका बिमानहरुले भद्रपुर, विराटनगर, राजविराज, जनकपुर, सिमरा, भरतपुर, भैरहवा, नेपालगञ्ज, धनगढी, लुक्ला, फाप्लुलगायत स्थानहरुमा उडान भर्ने छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *