Sajhamanch Archive

भ्रमपूर्ण सूचना प्रवाह विश्वव्यापी चुनौती : राष्ट्रपति भण्डारी

Published: in राष्ट्रिय समाचार by .

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले अभिव्यक्ति स्वतन्त्रताको नाममा तथ्यहीन र झुटा समाचार एवम् भ्रामक विचार सञ्चार माध्यममा प्रकाशित र प्रसारित भइरहेकोप्रति चिन्ता व्यक्त गरेकी छन् ।

प्रेस काउन्सिल नेपालको ५१औँ वाषिर्कोत्सव समारोहलाई सम्बोधन गर्दै भण्डारीले पत्रकारिताको आचारसंहिता र पेशागत मर्यादासमेतलाई ख्याल नगरी समाचार सम्प्रेषित भइरहेको बताइन् ।

‘आमसञ्चार माध्यमलाई जिम्मेवार बनाएर लोकतन्त्रलाई सुदृढ तुल्याउन पत्रकार आचारसंहिताको पूर्ण पालना हुुनुपर्दछ र यसका लागि प्रेस काउन्सिलको भूमिकालाई थप प्रभावकारी बनाउनुपर्छ भन्ने मैले ठानेको छु,’ शीतलनिवासमा मंगलबार आयोजित समारोहमा राष्ट्रपति भण्डारीले भनिन्, ‘सूचना र सञ्चारको क्षेत्रमा नयाँ प्रविधिको विकाससँगै झुठा र भ्रमपूर्ण सूचनाको प्रवाह हुनु विश्वव्यापी चुनौति बनेको छ । सञ्चार क्षेत्रमा देखिएको चुनौती सामना गर्न प्रेस काउन्सिलको भूमिका अझ सशक्त हुन आवश्यक छ ।’

कोरोना महामारीका कारण सञ्चार माध्यम र सञ्चारकर्मीसमेत पीडित हुनु परेकोमा दुःख व्यक्त गर्दै राष्ट्रपति भण्डारीले प्रतिकूल परिस्थितिमा समेत अविचलितरूपमा पेशाप्रतिको दायित्ववहन गर्ने पत्रकारिता क्षेत्रको उच्च मूल्याङ्कन गरेको बताइन् । उनले आमसञ्चारको क्षेत्रमा देखिएका कमी-कमजोरीहरू हट्दै जाने विश्वाससमेत व्यक्त गरिन् ।

भण्डारीले पत्रकार परपीडक हुन नहुने भन्दै आमसञ्चार क्षेत्रको भूमिका प्रभावकारी बनाउनुपर्नेमा जोड दिइन् । ‘स्वतन्त्रता र चेतनाको संवाहकका रूपमा रहेको प्रेसको निब परपीडक हुनुहुँदैन’ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *