Sajhamanch Archive

अर्जुनधारामा सञ्चालनमा आयो १५ शैयाको अस्पताल

Published: (Updated: ) in समाज, स्थानीय तह, स्वास्थ्य by .

झापा । झापाको अर्जुनधारामा १५ शैयाको शनिश्चरे अस्पताल सञ्चालनमा आएको छ । प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरवृद्धि गरी अस्पताल सञ्चालनमा ल्याइएको हो ।

अस्पतालमा बुधबार आयोजित एक समारोहका बीच प्रदेशका सामाजिक विकासमन्त्री जीवन घिमिरे र राज्यमन्त्री जसमाया गजमेरले संयुक्तरूपमा उद्घाटन गरेका छन् ।

इलामको नाम्सालिङ निवासी अविनारायण ढकाल, हृदयकुमारी ढकाल, मनकुमारी ढकाल, धर्मप्रसाद ढकाल, हरिप्रसाद ढकाल र चन्द्रप्रसाद ढकालको स्मृतिमा स्थानीय ढकाल परिवारबाट १० कठ्ठा १० धुर जग्गा निःशुल्क प्रदान भएपछि शहरी विकास तथा भवन निर्माण विभाग शहरी डिभिजन कार्यालय इलामको दुई करोड ५० लाखको लागतमा उक्त केन्द्रको भवन निर्माण भएको थियो ।

अस्पताल सञ्चालन भएसँगै विशेषज्ञ चिकित्सकसहितको सेवा सुरु भएको छ । अस्पतालका डाक्टर रबिन्द्र ओलीले पूर्णरूपमा सेवा सञ्चालनका लागि आवश्यक जनशक्ति व्यवस्थापन गर्नुपर्ने बताए ।

सोही कार्यक्रमको अवसरमा नगरमा कोभिड–१९ रोग रोकथाम तथा नियन्त्रण गर्न प्रत्यक्ष र अप्रत्यक्षरुपमा सहयोग गर्ने १७ जनालाई सम्मान पत्रबाट सम्मानित गरिएको थियो । यसरी सम्मानित हुनेहरुमा अर्जुनधारा प्रेस क्लबका उपाध्यक्ष रमेश समदर्शी, अर्जुनधारा जलेश्वर धामका मूल आचार्य अग्निप्रसाद सिग्देल, उद्योगी नविन गट्टानी, योग प्रशिक्षक रमेश पोखरेल, सामाजिक अभियन्ता कमल पोखरेललगायत रहेका छन् ।

कार्यक्रममा प्रदेश सांसद बिर्ख प्रधान, नगर प्रमुख हरीकुमार राना, जग्गा तथा पूर्व वन राज्यमन्त्री वीरमणि ढकाल लगायतले आ-आफना धारणा राखेका थिए ।

समितिका उपाध्यक्ष रामप्रसाद भट्टराईले मन्तव्यबाट स्वागत गरेको कार्यक्रमको सञ्चालन नगर स्वास्थ्य शाखा संयोजक मुकुन्द बस्नेतले गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *