Sajhamanch Archive

‘दशैँमा घर जाँदा कतै बाआमालाई कोरोना कोसेली पो लिएर जाँदै छैनौँ  ?’

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by .

झापा । काठमाण्डौ उपत्यकालगायत विभिन्न जिल्लाहरुमा कोरोना भाइरसको सङ्मक्रण दिनहुँ बढिरहेको छ । मानिसको धेरै भिडभाड हुने ठाउँ तथा शहरमा स्वास्थ्य मापदण्ड राम्ररी पालना नहुँदा सङ्क्रमण बढिरहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

कोरोना सङ्क्रमण फैलिरहेकै बेला अहिले लामो तथा छोटा दुरीका गाडी सञ्चालनमा छन् भने आन्तरिक हवाई उडान पनि सुरु भइसकेको छ । होटेल तथा खाजा घरहरु पनि धमाधम खुलेकाले कोरोनाको जोखिम थप बढेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताए ।

यस्तै दशैँ, तिहार र छठ जस्ता पर्व नजिकिँदै गएकाले पनि एक ठाउँबाट अर्को ठाउँमा कोरोनाको सङ्क्रमण सजिलै फैलने खतरा बढेको उनले बताए । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर गौतमले निषेधाज्ञा खुलेपछि कोरानाको सङ्क्रमण बढेकोले अब आउँदै गरेका चाडपर्वका कारण अझ सङ्क्रमण फैलन सक्ने बताए । उनले दशैँ नजिकिँदै गर्दा शहर र घनाबस्तीबाट आफ्नो घरगाँउ जाने क्रम सुरु भइसकेकाले जोखिम बढेको  बताएका हुन् ।

उनले भने, ‘दशैँमा घर जाँदा कतै बाआमालाई कोरोना कोसेली पो लिएर जाँदै छैनौँ ?’ दशैँमा आशीर्वाद लिन घर जाँदा कतै कोरोना पनि छ कि भनेर स्वास्थ्य सावधानी अपनाउनु पर्ने उनको भनाइ छ । उनले गाउँ घरमा रहेका ज्येष्ठ नागरिक, दीर्घ रोगीहरुलाई कोरोनाबाट जोगाउन चुनौती थपिएको पनि बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *