विराटनगरमा १२१ स्वास्थ्यकर्मीमा कोरोना संक्रमण
Published:
by .विराटनगर । समुदायस्तरमा कोरोना संक्रमण देखिएको विराटनगरका स्वास्थ्य संस्थामा कार्यरत स्वस्थ्यकर्मीसँगै कर्मचारीमा संक्रमण बढ्दो छ ।
कोभिड नियन्त्रणका लागि अग्र मोर्चामा खटिरहेका स्वास्थ्यकर्मी र कर्मचारीमा संक्रमण बढ्दै गएको हो । महानगरपालिकाका अनुसार अस्पतालमा कार्यरत एक सय २१ जना स्वास्थ्यकर्मी र कर्मचारी संक्रमित भइसकेका छन् । जसमा विराटनगर महानगरपालिकाका आठ स्वास्थ्यकर्मी छन् । कोशी अस्पतालमा ३१ जना स्वास्थ्यकर्मी र कर्मचारी संक्रमित भएका छन् । संक्रमितमध्ये केहीबाहेक अन्य संक्रमणमुक्त भएका छन् ।
विराटनगर अस्पताल (नर्सिङहोम) मा ९ जना संक्रमित भएको महानगरपालिकाका स्वास्थ्य महाशाखाका यादव गौतमले जानकारी दिए । उनका अनुसार न्यूरो अस्पताल विराटनगरमा २० जना संक्रमित भएका छन् ।
नोबेल मेडिकल कलेजमा ३६ जना संक्रमित भएका छन् । मोरङ सहकारी अस्पतालमा ७ जना संक्रमित भएका छन् । गोल्डेन अस्पतालमा तीनजना संक्रमित भएका छन् । बुढीगंगा गाउँपालिकाको विराट मेडिकल कलेजमा १६ जनामा संक्रमण देखिएको गौतमले जानकारी दिए ।
संक्रमितमध्ये अधिकांश संक्रमणमुक्त भएर काममा फर्किसकेका छन् । उनका अनुसार यो संख्या एक साताअघिको हो । नयाँ संक्रमित स्वस्थ्यकर्मीको विवरण स्वस्थ्य संस्थाहरुबाट आउने क्रममा रहेको उनले जानकारी दिए । विराटनगर महानगरपालिकामा १ हजार ९ सय ६१ कोरोना संक्रमित छन् । संक्रमितमध्ये २२ जनाको मृत्यु भइसकेको छ ।
Comments