कमल गाउँपालिकाद्वारा निर्मित कोभिड अस्पतालको उद्घाटन
Published: (Updated: )
by .कमल । प्रदेश नं. एकका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले जनताको स्वास्थ्य नै सबै भन्दा महत्वपूर्ण भएकाले जनतालाई कसरी स्वस्थ्य राख्ने भन्नेमा सरकार लागी परेको बताएका छन् ।
कमलगाउँपालिकाद्वारा निर्माण गरिएको अस्थायी कोभिड अस्पतालको उद्घाटनका क्रममा मन्त्री कार्कीले नागरिकको जीवन रक्षाको लागि सरकार कोरोनाबाट कसरी बनाउँने भन्नेमा कुरामा लागेको जानकारी दिए ।
नेपाल सरकारले अस्पताल नभएका स्थानीय तहमा न्युनतम ५ वेडको कोभिड १९ अस्पताल सञ्चालन गर्ने निर्देशन भए अनुसार कमल गाउँपालिकाले प्रदेश नम्वर १ मा सबै भन्दा पहिले अस्पताल सञ्चालनमा ल्याएकोमा मन्त्री कार्कीले धन्यवाद समेत दिएका थिए ।
हाल अस्थायी रुपमा सञ्चालनमा ल्याएको अस्पताललाई छिट्टै स्थायी बनाउन प्रदेश सरकारले थप आर्थिक सहयोग गर्ने समेत मन्त्री कार्कीले बचन दिएका छन् ।
अस्पताल निर्माणका लागी २१ लाख रुपैया खर्च भएको कमल गाउँपालिकाले जनाएको छ । अस्पतालमा आवश्यक सामग्री खरिद गर्न र कर्मचारी व्यवस्थापनका लागी संघिय सरकारबाट १४ लाख ५० हजार प्रदेश सरकारबाट ५ लाख रकम प्राप्त भएको कमल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास श्रेष्ठले जानकारी दिए ।
अस्पतालका लागि एकजना डाक्टर, २ जना स्टाफ नर्स, कार्यालय सहयोगी १ जना नियुक्ति भई सकेको बताइएको छ ।
हाल कमल गाउँपालिकाको वडा नम्वर ३ स्थित शहिद धर्मभक्त माध्यमिक विद्यालयमा बनाइएको क्वारेन्टाइनलाई पनि स्थानन्तरण गरी कोभिड अस्पतालमा नै सञ्चालन गरिने समेत गाउँपालिकाले जनाएको छ ।
Comments