दिउँसो सुत्ने बानी : फाइदा कि बेफाइदा ?
Published: (Updated: )
by .कोरोना भय र लकाउनको कारण अधिकांश घरभित्रै खुम्चिए । घरभित्र बस्दा के गर्ने ? कामधन्दाको मेलोमेसो नपाएकाहरुलाई समय कटाउन गाह्रो भयो । भान्साको काम गर्ने कि ? बगैंचामा रमाउने ? बालबच्चासँग खेल्ने ? विकल्प अनेक हुनसक्थ्यो । तर, सधैभरी मुड हुँदैन । यस्तो अवस्थामा समय कटाउने बाहाना बन्छ, बेपर्वाह सुत्ने ।
त्यसो त कतिपय सुत्न रुचाउने नै हुन्छन् । फुर्सद पाउनसाथ मस्त निदाउँछन् । उनीहरुका लागि लकडाउनमा समय कटाउन अरु के गर्नुप¥यो ? मस्त सुते भयो ।
फुर्सदको बेला वा कामधन्दा नभएको बखत मात्र होइन, व्यस्त समयमा पनि कतिपय दिँउसै सुत्ने गर्छन् । दिँउसो सुत्ने बानी हुन्छ । खासगरी बिहानको खाना खाइसकेपछि उनीहरु ओछ्यानमा पस्छन् ।
यस्तो बानी भएका मानिसहरुलाई दिँउसो थकान महसुस हुन्छ र निन्द्रा लाग्न थाल्छ । दिउँसो सुत्ने मानिसहरुलाई धेरैले अल्छीको संज्ञा दिन्छन् ।
त्यस्तै दिँउसो सुत्ने बानीलाई लिएर हरेकको मनमा दिँउसोको निन्द्रा राम्रो हो कि होइन भन्ने प्रश्न उठ्छ ।
सामान्य अनुमान गर्न सकिन्छ, दिँउसो सुत्नु उचित होइन । एक त यो हाम्रो शरीरको जैविक घडी विपरित काम भयो, अर्को चाहिँ आफ्नो कामधन्दामा असर गर्ने भयो । किनभने दिँउसोको समयमा नै हामी अधिकांशले आफ्नो काम व्यवहार पुरा गर्छौं । त्यसैले दिँउसो सुत्ने बानीले गर्दा आफ्नो नियमित काममा अवरोध पुग्छ । कतिपय महत्वपूर्ण कामहरुमा पनि यसले असर गर्न सक्छ ।
महत्वपूर्ण कुरा त के भने हाम्रो शरीरको सुत्ने र उठ्ने निश्चित तालिका हुन्छ, जसलाई जैविक घडी भनिन्छ । प्रकृतिसँगै शरीरको तालमेल मिलाउँदै सुत्ने, उठ्ने, खाने, बस्ने प्रक्रियालाई यसले व्यवस्थित गर्छ । यस हिसाबले जब सूर्योअस्त हुन्छ वा रात पर्छ तब हाम्रो शरीरले विश्राम खोज्छ । शरीरको प्राकृतिक आवश्यक्ता अनुसार राती मात्र सुत्नुपर्छ । अतः यस बखत हामीलाई ७ देखि ८ घण्टासम्मको गहिरो निद्रा जरुरी हुन्छ ।
दिँउसो सुत्ने बानीले हाम्रो शरीरको आफ्नो प्रक्रियालाई क्रमभंग गर्छ । सुत्ने, उठ्ने, खाने, बस्ने तालिका गडबड बनाइदिन सक्छ । जब हाम्रो दिनचर्या असन्तुलित हुनपुग्छ, शरीरिक समस्याहरु सुरु हुन्छ ।
हामीले खाएको खाना पचाउनका लागि पनि शारीरिक श्रमको जरुरत हुन्छ, जुन हामी दिँउसोको समयमा वा उठेको बखत पुरा गर्छौं । दिँउसो खाना खाएर सुतेपछि हाम्रो शरीरले समूचित श्रम गर्न पाउँदैन । यसले पाचन यन्त्रदेखि अन्य अंगहरुलाई शिथिल र निस्क्रिय बनाउँछ ।
यद्यपि कतिपयको बाध्यता हुन्छ रातको समयमा काम गर्नुपर्ने । उनीहरुले दिँउसोको समय सुत्नैपर्ने हुन्छ । त्यसैगरी अन्य कामधन्दा पुरा गरिसकेपछिको फुर्सदिलो समय कटाउन पनि कतिपयको लागि राम्रो विकल्प बन्छ, सुत्नु । दिँउसोको सुताईबाट केही आशिंक लाभ भने प्राप्त गर्न सकिने बताइन्छ ।
कतिपय मुलुकमा कार्यथलोमा नै दिँउसोको समयमा सुत्न दिइने व्यवस्था छ । यद्यपि यो सुताई क्षणिक एवं निश्चित समयको लागि हुन्छ । यसरी सुत्दा शरीरलाई पूर्ण विश्राम मिल्ने र त्यसले अनेक फाइदा गर्ने विभिन्न शोधमा उल्लेख छ ।
खासगरी कामको थकान मेट्न यसरी सुत्नु राम्रो मानिन्छ । सुतेको बखत शरीरलाई राम्रो विश्राम पाउने भएकाले तनाव र थकान कम हुन्छ । मन शान्त हुन्छ र शरीरले आनन्दित महसुष गर्छ । त्यसैले निश्चित समयका लागि दिउँसो सुत्नुलाई हानिकारक मानिदैन ।
जो मानिस दिउँसोको समयमा १५–३० मिनेट निदाउँछन् उनीहरुको अल्छीपना टाढा हुन्छ । त्यस्तै तनाव वा मानसिक थकानलाई टाढा गर्न चाहनुहुन्छ भने दिउँसो ९० मिनेट निदाउनु राम्रो हुन्छ ।
यदि दिँउसोको समयमा निन्द्रा महसुस भइरहेको छैन भने सुत्नु हुँदैन । यसले कुनै फाइदा मिल्दैन त्यसैले यो कुरालाई सँधै ध्यान दिनुहोस् ।
मानिसलाई दिनमा कति निन्द्रा आवश्यक छ
आम रुपमा हरेक मानिसलाई एक दिनमा ७–८ घन्टाको निन्द्राको आवश्यकता हुन्छ भन्ने गरिन्छ । तर, यसको लागि कुनै सामान्य नियम हुँदैन ।
साना बच्चाहरुलाई शारीरिक विकासको लागि दिनमा १२ देखि १५ घन्टाको निन्द्रा आवश्यक हुन्छ । ७ वर्षदेखि १३ वर्षसम्मका भन्दा ठूला बच्चाहरुको लागि ९ देखि ११ घन्टा सुत्न आवश्यक हुन्छ ।
यसैगरि १४ देखि १९ वर्षका किशोरहरुलाई ८ देखि १० घन्टा निदाउन राम्रो हुने चिकित्सकहरु बताउँछन् । वयष्क मानिसहरुको लागि ६ देखि ८ घन्टा सुत्नु राम्रो हुन्छ । ६ घन्टाभन्दा कम सुत्नाले भने स्वास्थ्यलाई असर गर्छ ।
त्यस्तै ६० वर्ष भन्दा धेरै उमेरका मानिसहरुको लािग सामान्य भन्दा धेरै घन्टा सुत्न आवश्यक हुन्छ । यो उमेरमा स्वास्थ्य सम्बन्धी कैयौं किसिमका समस्याहरु आउँछन् । थकान वा मानसिक तनावलाई टाढा गर्नको लागि १० देखि १२ घन्टा वा अझै यस भन्दा धेरै निदाउन सकिन्छ ।
Comments