बली दिन भारततर्फ लाँदै गरेका दुई किशोरीको उद्दार
Published:
by .इनरुवा । सुनसरीको कोशी गाउँपालिका–८ भण्टाबारीस्थित नेपाल भारतको सीमाबाट दुई किशोरीलाई बुधबार प्रहरीले उद्दार गरेको छ । बली दिन भारततर्फ लैजाँदै गर्दा सप्तरी घर भएका ती दुई किशोरीलाई सुनसरीको भाण्टाबारी नाकाबाट उद्दार गरिएको सुनसरीका प्रहरी नायव उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए ।
नेपाल र भारततर्फका संयुक्त सुरक्षाकर्मीको टोलीले सीमा क्षेत्रबाट किशोरीको उद्दार गरेको नायव उपरीक्षक कार्कीले बताए । शंका लागेर सोधखोज गर्ने क्रममा किशोरीसँगै रहेका दुई पुरुषलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
उद्दार गरिएकामा १९ र २२ वर्षकी दुई किशोरी रहेका छन् । भारततर्फ लैजाने कार्यमा संलग्न रहेको सप्तरी कृष्ण सवरन गाउँपालिका–४ बनौलीका २९ वर्षीय महम्मद साहिल मन्सुरी र सिरहा लाहान नगरपालिका–१९ कटाहका २९ वर्षीय जीवछकुमार साहलाई नियन्त्रणमा लिएको नायव उपरीक्षक कार्कीले बताए ।
नियन्त्रणमा लिएका एकले आफू किशोरीको आफन्त रहेको प्रहरीसमक्ष बयान दिएका छन् । नाताले भिनाजु पर्ने व्यक्तिले सालीलाई पूजाका लागि भारत लैजाने सहमतिअनुरुप आफू सुरक्षाका लागि सँगै आएको भनी उनले प्रहरीसमक्ष बयान दिएको प्रहरीले जनाएको छ ।
सीमापारी नजिकैको भारतीय बजार भीमनगरमा रहेको मन्दिरमा पूजाका लागि भनेर ल्याइएको युवतीले प्रहरीसमक्ष बताएका छन् । भारततर्फ लैजानुपूर्व उनीहरुको उचाइसमेत नापिएको थियो । त्यसैगरी हातको रेखासमेत हेरी पूजाका लागि योग्य भनी ठहर गरिएको थियो ।
सीमापारि नजिकै रहेको कुनै एक मन्दिरमा साँझको बेला आयोजना हुने पूजाबेला ध्यानमा बसेवापत दुई लाख रकम दिने भनिएको थियो । चौधरी थर भएका युवतीहरु निकै सोझा रहेको प्रहरीले जनाएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक कार्कीले बताए ।
अलपत्र महिलाको उद्दार
प्रदेश नं १ को सामाजिक विकास मन्त्रालयले बुधबार सडकमा अलपत्र एक महिलाको उद्दार गरेको छ । सामाजिक विकास मन्त्री जीवन घिमिरेले मोरङको बुढीगंगा गाउँपालिका वडा नं १ बाट २१ वर्षीया धना विश्वकर्माको उद्दार गरेका हुन् ।
स्थायी ठेगाना बताउन नसक्ने अवस्थामा रहेकी उनी एक सातादेखि सडकमा देखिएकाले स्थानीय युवाले मन्त्रालयलाई जानकारी गराएपछि उद्दार गरिएको हो । सडकबाट उद्दार गरी जनस्वास्थ्य प्रयोगशालामा उनको स्वाब परीक्षण गरी आइसोलेसनमा राखिएको छ । कोरोना परीक्षण रिपोर्ट आएपछि मानव सेवा आश्रममा लैजाने मन्त्रालयले बताएको छ ।
महिलाको उद्दार गर्दै सहयोगापेक्षी मुक्त सडक प्रदेश निर्माण गर्ने अभियानमा सरकार लागिपरेको मन्त्री घिमिरेले जानकारी दिए । प्रदेश सरकारले विगत केही महिनादेखि सडक बालबालिका र बृद्धबृद्धाको उद्दार गर्दै आएको छ ।
Comments