Sajhamanch Archive

सरकार लोकतन्त्र, प्रेस स्वतन्त्रता र मानव अधिकारप्रति प्रतिवद्धः प्रम ओली

Published: in राष्ट्रिय समाचार by .

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार लोकतन्त्र, प्रेस स्वतन्त्रता, मानव अधिकारप्रति प्रतिवद्ध रहेको दोहोर्याएका छन् ।

नेपाल मिडिया सोसाइटीको नवनिर्वाचित कार्य समितिलाई आज बधाई दिंदै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

लोकतन्त्र कै लागि आफ्नो पार्टी स्थापना भएको, त्यसका लागि आफू १४ वर्ष जेल बसेको, पार्टीका कयौं नेता, कार्यकर्ता शहीद भएकाले वर्तमान सरकार र नेपाल कम्युनिष्ट पार्टीबाट लोकतन्त्रलाई कहिले पनि खतरा नहुने दोहोर्याएका हुन् ।

माइतीघर मण्डलाको विषयलाई लिएर केही मिडियाले सरकारलाई नागरिक स्वतन्त्रता विरोधी करार गर्न खोजेको प्रधानमन्त्री ओलीको टिप्पणी छ । “माइतीघर मण्डला के आमसभा, जुलुस गर्न उपयुक्त ठाउँ हो त ?” प्रधानमन्त्री ओलीले प्रश्न गर्दै भनेका छन् “अनि यसलाई देखाएर सरकारलाई नागरिक स्वतन्त्रता विरोधी करार गर्न खोज्ने ?”

“नेकपा लोकतन्त्रको जन्मदाता हो । यही पार्टीको सरकार भएका बेला लोकतन्त्र, प्रेस स्वतन्त्रता, मानवअधिकार हनन् हुने कुरा कल्पनासम्म हुँदैन” प्रधानमन्त्री ओलीले भनेका छन् “यो कुरा मिडियाले पनि बुझन् पर्दछ ।”

प्रधानमन्त्री ओलीले सरकारलाई सजग गराउन र जनतालाई सचेत गराउन मिडियाको ठूलो भूमिका हुने पनि बताएका छन् । केही सञ्चार माध्यमले आफ्नो दायित्व भुलेर जथाभावी गरिरहेकोमा प्रधानमन्त्रीले असन्तुष्टि पनि व्यक्त गरेका छन् ।

प्रधानमन्त्री ओलीले सोसाइटीका अध्यक्ष शुभशंकर कँडेललगायत कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *